#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20153983736177642374312994063
नेपाल2331079673816493

मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो कांग्रेस बैठक

फाइल फोटो/नेपाली कांग्रेस पार्टी कार्यालय

काठमाडौँ ।  संस्थापन इतर पक्षले बहिस्कार गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजको बैठक मूल एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । बैठक अघि भएका छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज महाधिवेशनको कार्यतालिका ल्याउन सम्भव नभएकाले आजको बैठक नराख्न आग्रह गरेको थियो । “तर उहाँहरूले बैठक बोलाइसकिएकाले सामान्य विषयमा छलफल गरी टुंग्याउँछौं भन्नुभयो”, पौडेल निकट एक केन्द्रीय सदस्यले भने, “हामीले त पटक पटक बैठक बहिस्कार गर्दा बाहिर राम्रो सन्देश जाँदैन भनेका थियौं तर उहाँहरू मान्नु भएन ।” असन्तुष्ट पक्ष सहभागी नहुने भएपछि ढिला गरी शुरु भएको बैठक मूल एजेण्डामा छलफल नै नगरी भोलि अपराह्न १ बजे पुनः बस्ने गरी टुंगियो ।

महाधिवेशनको कार्यतालिका, विभाग गठनको प्रस्ताव, भ्रातृ संगठनको अधिवेशन लगायतका मुख्य एजेण्डामा छलफल नगरे पनि बैठकमा केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको उपनिर्वाचन अनुगमन समितिले आफ्नो प्रतिवेदन पेश गरेको केन्द्रीय सदस्य पुुष्पा भुसालले जानकारी दिइन् ।

आजको बैठकले संसद र प्रतिपक्षलाई छलेर संवैधानिक आयोगबारे सरकारले ल्याउन लागेको अध्यादेश संसदीय मर्यादा विपरीत भएको भन्दै विरोध जनाएको छ । बैठकले धनुषामा मंसिर २७ गते भएको बम विष्फोटको भत्र्सना गर्दै उच्चस्तरीय छानविनको माग गरेको छ । साथै बम विस्फोट परी मृत्यु हुनेको परिवारलाई राहतको व्यवस्था गर्न र घाइतेहरूको उपचार गर्न पनि सरकारसँग माग गरेको छ ।

यसैगरी बैठकले पछिल्लो समयमा बढेका सवारी दुर्घटनामा सरकारको ध्यानाकर्षण गराएको छ । बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “नेपाली कांग्रेस सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई अपिल गर्दछ ।”

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको आजको बैठकमा उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यहरू बलकृष्ण खाँण र रमेश लेखकले बोलेका थिए । शीर्ष नेतृत्वले असन्तुष्ट पक्षहरूसँग भइरहेको छलफलबारे बैठकमा जानकारी गराउँदै सहमति नजिक पुगेकाले भोलिको बैठकमा सबै पक्ष सहभागी हुने बताएको केन्द्रीय सदस्य भुसालले जानकारी दिइन् ।

वरिष्ठ नेता पौडेल पक्षले विहिबारको केन्द्रीय समिति बैठक औपचारिक रूपमै बहिस्कार गरेपछि दुवै पक्षका नेताहरूबीच विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

पछिल्लो पटक आज विहान पार्टी उपसभापति विमलेन्द्र निधि र महामन्त्री शसांक कोइरालाबीच छलफल भएको थियो । सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षसँग छलफल गरी सहमति जुटाउन जिम्मेवारी दिएपछि उपसभापति निधिले आज विहान महाराजगन्जस्थित कोइराला निवास पुगेर महामन्त्रीसँग छलफल गरेका थिए ।

महाधिवेशनको कार्यतालिकालाई बैठकको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा सहभागी नहुने पौडेल पक्षको अडान र स्थानीय संरचना समायोजनको काम नसकिएसम्म कार्यतालिकामा छलफल गर्न नसकिने सभापति शेरबहादुर देउवा पक्षको अडानका बीच कांग्रेस केन्द्रीय समितिको बैठक प्रभावित हुँदै आएको छ ।

सम्बन्धित समाचारहरु