काम गर्दागर्दै ढलमा कसरी पुरिए दुई कामदार ?

काम गर्दागर्दै ढलमा कसरी पुरिए दुई कामदार ?


भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँंदा उनीहरू पुरिएको प्रहरीले जनाएको छ । 

दिउँसाे चार बजेपछि भएको घटनामा परेका उनीहरूको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । उनीहरू मध्ये सुनसरी गढी गाउँपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाईको साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए । उनी बोल्नसक्ने अवस्थामा रहेको उनले जनाए । सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदाको उद्धार कार्य जारी रहेको एसपी केसीले जनाए । 

निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने ४६ वर्षीय रामदेव यादब एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ । 

खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिई गएको जनाएको छ । साथै वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।

Logo