संक्रमणकालीन न्यायको विधेयकविरुद्ध द्वन्द्व पीडितको आन्दोलन २८औं दिनमा

संक्रमणकालीन न्यायको विधेयकविरुद्ध द्वन्द्व पीडितको आन्दोलन २८औं दिनमा


बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विरोध गर्दै द्वन्द्वपीडितहरुले निरन्तर आन्दोलनमा छन् । 

सरकारले पीडकलाई उन्मुक्ति दिनेगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा लगेको भन्दै बुधबार पनि द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाले माइतीघर मण्डलामा धर्ना दिएको छ । 

गत चैत्र ५ गतेदेखि सुरु भएको उनीहरुको यो आन्दोलन बुधबार २८ औं दिनमा प्रवेश गर्दा पनि सरकारको ध्यान भने गएको छैन । 

आन्दोलनमा सहभागी पीडित परिवारका सदस्य वसन्त राज पोखरेलले संसदमा  पेश भएको विधेयकले द्वन्द्वपीडित र माओवादीबाट पीडित कसैलाई पनि नसमेटिएको भन्दै यसलाई संशोधन गर्नुपर्ने माग गरे । 

पोखरेलले भने, ‘आन्दोलन चैत्र ५ गतेबाट २८ औं दिनमा जादैँ छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले लिएर आएको विधेयक अहिले संसदमा छलफलमा छ । त्यो बँुदाले हामी द्वन्द्वपीडित र माओवादीबाट पीडित कोहीलाई पनि नसमेटिएकोले यो विधेयक संशोधन हुनुपर्छ । यसमा हामी सहकार्य गर्न तयार छौँ ।’ 

उनले सुरक्षाकर्मीका परिवारलाई राहत, क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य र रोजगारका बारेमा सम्बोधन हुनुपर्ने र द्वन्द्व पीडितहरु पनि यो देशको नागरिक हो भन्ने महसुस राज्यले गराउनु पर्ने बताए । 

यस्तै, अर्की पीडित शोभा बिसीले सरकारले ल्याएको संक्रमणकालीन न्यायको विधेयकले पीडकलाई उन्मुक्ति दिने र पीडितलाई थप गाह्राे बनाउने भएकोले यो विधेयक माथि संशोधन गर्नुपर्ने माग राखिन् । उनले सभामुख, प्रधानमन्त्री देखि सबैलाई पत्र बुझाएको भन्दै पीडितलाई पनि छलफलमा आफ्नो विचार राख्ने मौका दिनुपर्ने बताइन् । 

Logo