प्रशिक्षणको तयारीमा जुट्यो एन्फा

प्रशिक्षणको तयारीमा जुट्यो एन्फा


काठमाडौं ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो ।

एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ । राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौँ बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताए ।

साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उनले बताए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ । उक्त प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गरे। खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ । त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ ।

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले बुधबार लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ । दोस्रो चरणको छनोट अन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो ।रासस

Logo