साउदीमाथि मलेसियाको सहज जित

साउदीमाथि मलेसियाको सहज जित


मलेसियाले एसिसी प्रिमियर कपमा पहिलो जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा साउदी अरेवियामाथि मलेसियाले ८ विकेटको जित निकालेको हो । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा साउदीले जितका लागि दिएको १५४ रनको सामान्य लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाका लागि ओपनर मोहम्मद आमिरले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । साथै विरनदीप सिंह ५१ रन जोड्नुका साथै सायद अजिज ३४ रनमा अविजित रहे । 

बलिङतर्फ साउदी अरेवियाका जैन उल अबिदीनले दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदी अरेविया ४६।२ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । साउदीका लागि विकेटकिपर हसिब गाफुरले सर्वाधिक ४० रन बनाए । साथै ओपनर अब्दुल वाहिदले ३६ रन तथा कप्तान मोहम्मद हसन शेखले २१ रन बनाउनु बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् । 

बलिङतर्फ मलेसियाका खिजार हायतले ३ विकेट लिएका थिए भने विरनदीप सिंह, मोहम्मद वाफिक र रिजवान हैदर समान २/२ विकेट लिए  । 

जितसँगै मलेसियाले अंक तालिकामा खाता खोलेको छ । मलेसिया पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको थियो । एसिसी प्रिमियर कपमा समूह ए मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । 

Logo