धोबीखोला किनारमा अत्याधुनिक दुई पार्क बनाइने

धोबीखोला किनारमा अत्याधुनिक दुई पार्क बनाइने


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै वडा–५ मा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । महानगरले हाँडी गाउँस्थित धोबीखोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बीचमा रहेको करिब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।

३ करोड ३७ लाख ३८ हजार अनुमानित लागत रहेको नरबुद्ध पार्क निर्माणका लागि काठमाडौं महानगरले आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ । उक्त पार्क प्रस्ताव आव्हानको चरणमा पुगेको वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

विहार र बुद्धको मुर्तिसहितको सो पार्कमा पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ । उक्त पार्क अपाङ्ग मैत्री र जेष्ठ नागरिक मैत्री रहेको वडाध्यक्ष डंगोलले बताए । हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ । महानगर पार्कको पनि लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाइ छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइनबारे स्थानीयसँग छलफल गरिएको छ ।

छलफलमा सहभागी प्रमुख शाक्यले महानगरले थालनी गरेका कुनै पनि योजना बजेट अभावले नरोकिने बताए । प्रमुख शाक्यले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सार्वजनिक जग्गा र खुल्ला क्षेत्रको संरक्षण गर्दै हरियाली प्रवर्धनलाई ध्यानमा राखेर ३० भन्दा बढी पार्क निर्माण गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

Logo