नेपालले ओमानलाई दियो कीर्तिमानी विशाल लक्ष्य, कुशल र सोमपालको विष्फोटक ब्याटिङ

नेपालले ओमानलाई दियो कीर्तिमानी विशाल लक्ष्य, कुशल र सोमपालको विष्फोटक ब्याटिङ


नेपालले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । यो नेपालको ओडिआई करिअरमा सबैभन्दा विशाल योगफल हो । यसअघि नेपालले घरेलु मैदानमा नै आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध दिएको २९७ रन ओडिआई इतिहासकै विशाल योगफल थियो । जुन आज नेपालले तोडेको छ । 

नेपालका लागि बायाँ हाते युवा अलराउन्डर कुशल मल्लले कीर्तिमानी विष्फोटक शतकीय इनिङ खेले । उनले ६४ बलमा ९ चौका र १० छक्काको मदतमा १०८ रन जोडे । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी समेत बनेका छन् । 

साथै तीव्र गतिका बलर सोमपाल कामीले पनि अर्धशतक प्रहार गरेका छन् । उनी ४८ बलमा ६३ रन जोड्दै अविजित रहे । उनको पनि यो ओडिआईमा पहिलो अर्धशतक हो । 

तर, नेपालको सुरुवात भने खराव रह्यो । नेपालले सुरुवाती २७ बलसम्म दुबै ओपनर गुमाउँदै कुनै रन जोड्न सकेको थिएन । २८ औं बलमा पहिलो रन जोडेको थियो । त्यसपछि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले नेपालको इनिङ साझेदारी बढाए । भीमले ३३ रन जोडे भने कप्तान रोहित २३ रनमा आउट भए । आरिफ शेख २९ रनमा आउट हुँदा करण केसी २९ रनमा अविजित रहे । 

बलिङतर्फ ओमानका आयन खानले २ विकेट लिए भने  बिलाल खान, कलिमुल्लाह, जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

Logo