सिभिल मलका व्यापारीहरुले पाउने भए ५० प्रतिशत भाडा छुट (भिडियोसहित)

सिभिल मलका व्यापारीहरुले पाउने भए ५० प्रतिशत भाडा छुट (भिडियोसहित)


काठमाडौं ।

सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार संघका अध्यक्ष रत्नबहादुर घिमिरेले चैतदेखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी ३ महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवस्थापन पक्षसँग सहमति भएको बताए । कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृति अनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उनले बताए ।

सरकारले साउन ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरे पनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भए पनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए ।

सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए । मंगलबार मध्यरातिबाट लागू हुने गरी सरकारले लकडाउन अन्त्यको घोषणा गरिसकेको छ । सरकारले लकडाउन खोले पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।

Logo