#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32953846996297763835124319198
नेपाल718214671834153013

सवारी चालक अनुमतिपत्र नपाउँदा सेवाग्राही समस्यामा

बाँके।

सवारी चालक अनुमतिपत्र समयमा नपाउँदा सेवाग्राही समस्यामा परेका छन् ।

यातायात व्यवस्था कार्यालय भेरीमार्फत चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ४५ हजार सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाउन नसकेको निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले बताए ।

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको हुन सक्ने उनको भनाई छ ।

सडकमा छड्के जाँच हुँदा चालकले कार्यालयमा राजश्व तिरेको कागज देखाएर हिँड्ने गरेका छन् । रसिदको नम्बर नबुझिने भएर अहिले लेमिनेशन गरेर कागज बोक्नुको विकल्प नभएको चालक ईश्वर रेग्मीको भनाइ छ । सरकारले आधुनिक प्रविधिको प्रयोग गर्दै हस्तलिखित कार्डलाई ‘स्मार्ट’ चालक अनुमतिपत्रले विस्थापित गर्ने लक्ष्य राखे पनि आवश्यकताभन्दा कम छपाई हुँदा सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएका हुन् ।

विभागले चाँडो गर्ने भन्दै केही महिना निजी कम्पनीलाई छपाइको जिम्मेवारी दिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए । सङ्घीय सरकारले गत मङ्सिरमा यातायात व्यवस्था कार्यालय भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरिसकेकाले यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको हो । प्रदेश सरकार आफैँले कार्ड छाप्न शुरु नगर्दा चालकले समयमै स्मार्ट कार्ड पाउन सकेका छैनन् ।

१९ करोड बढी राजश्व सङ्कलन

बाँकेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय भेरीले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १९ करोड ६१ लाख ८६ हजार ८८६ राजश्व सङ्कलन गरेको छ ।

सवारी साधनको नवीकरण, यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र दर्ता तथा नवीकरण, ब्लुबुक सम्बन्धी दस्तुर दण्ड जरिवानालगायतका विविध शीर्षकमा उक्त राजश्व असुली गरिएको कार्यालयका लेखा अधिकृत दीपक गोराथोकीले बताए । उनका अनुसार सबैभन्दा धेरै साउन महिनामा चार करोड २० लाख ८३ हजार २७३, भदौमा तीन करोड ९१ लाख ६५ हजार २३७, असोजमा तीन करोड ९० लाख २७ हजार ३५८, कात्तिकमा तीन करोड ३९ लाख आठ हजार २८३ र मङ्सिर महिनामा चार करोड १९ लाख २६ हजार ७३५ राजश्व सङ्कलन भएको छ । उक्त राजश्व गत आवको अघिल्लो र पछिल्लो पाँच महिनाको तुलनामा बढी हो ।

सम्बन्धित समाचारहरु