‘राष्ट्रिय समस्या हल गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्छ’ -उपेन्द्र यादव

‘राष्ट्रिय समस्या हल गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्छ’ -उपेन्द्र यादव


जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्न गठबन्धनलाई निरन्तररुपमा अगाडि बढाउन आवश्यक भएको बताएका छन् । 

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उपनिर्वाचनमा विजय हात पारेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै नवनिर्वाचित सांसद यादवले राष्ट्रिय समस्याको समाधान राजनीतिक स्थिरतासंग जोडिएकोले गठबन्धनलाई निरन्तर राख्नुपर्ने बताएका हुन् ।  

उनले भने, ‘देशको राष्ट्रिय समस्याको समाधान राजनीतिक स्थिरतासंग जोडेर हेरेका छौँ । राजनीतिक स्थिरता र राष्ट्रिय समस्या हल गर्नका लागि यो गठवन्धनलाई निरन्तररुपमा अगाडि बढाउनु पर्छ । वाराका जनताले निरास हुनु पर्दैन, वाँकी काम गरेर देखाउनु पर्छ । ’ 

यादवले २८ हजार चार सय १५ मत ल्याएर जित हात पार्दा उनका निटकतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले २३ हजार तीन सय ३४ मत ल्याएका छन् । निटतम प्रतिद्वन्दी कुशवाह र  यादवको मतान्तर पाँच हजार ८१ को छ । यादव सत्तारुढ पाँच दलीय गठनवन्धको साझा उम्मेदवार थिए । 

त्यस्तै, एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार रमेशप्रसाद खरेलले भने दुई हजार आठ सय २९ मात्रै मत ल्याएका छन् । बारा २ मा रमेश खरेलसहित ३१ उम्मेद्वारको धरौटी जफत भएको छ । 

यस अघि गत मंसिरमा भएको आम निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसंग १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित भएका थिए । बारा–२ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको उक्त क्षेत्रमा यादव उम्मेदवार बनेका हुन् । 

Logo