चिनियाँ राष्ट्रपति सी र युक्रेननी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

चिनियाँ राष्ट्रपति सी र युक्रेननी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता


चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् ।

जेलेन्स्कीले ट्वीटरमा लेखेका छन्, “राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ । यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ ।” 

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् । 

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए । “युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,” सिसिटिभीले भनेको छ ।

सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, “चीनले न त अर्को तिरबाट वाण हान्नेछ, न त आगोमा इन्धन थप्नेछ, सङ्कटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन ।” 

राष्ट्रपति सीले भने, “आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्छ, आफ्नो र सम्पूर्ण मानवजातिको भविष्य र नियतिमा साँच्चिकै ध्यान केन्द्रित गर्नुपर्छ र संयुक्त रूपमा सङ्कटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ ।”

बेइजिङले द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ भने रूसी आक्रमणको कहिल्यै पनि गरेको छैन । जेलेन्स्कीले आफ्ना चिनियाँ समकक्षी सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् । 

फेब्रुअरीमा बेइजिङले युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो । दस्तावेजमा चीनलाई तटस्थ पार्टीको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्ति वार्तामा प्रवेश गर्न आग्रह गरिएको छ । 

‘सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई प्रभावकारी रूपमा कायम राख्नुपर्छ भन्ने उक्त पत्रको पहिलो बुँदा थियो । तर मस्कोको सेनाले आफ्नो छिमेकीमाथि आक्रमण गरेपछि सुरु भएको युक्रेन युद्धको विशिष्टतासँग यो कसरी सम्बन्धित छ भन्नेबारे चीनले विस्तार गर्न निरन्तर अस्वीकार गर्दै आएको छ ।
 
पत्रमा बेइजिङले रूस र युक्रेनलाई शान्ति वार्ता पुनः सुरु गर्न आह्वान गर्दै ‘वार्ता अनि वार्ता नै एक मात्र व्यवहारिक समाधान हो’ भनेको छ । “अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्तालाई बढावा दिने सही दृष्टिकोणप्रति प्रतिबद्ध रहनुपर्छ, द्वन्द्वका पक्षहरूलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न मद्दत गर्नुपर्छ र वार्ता पुनः सुरु गर्नका लागि परिस्थिति र प्लेटफर्म हरू सिर्जना गर्नुपर्छ,” पत्रमा भनिएको छ ।
 
यसैबीच, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख जेन्स स्टोल्टेनबर्गले युक्रेनमाथिको अवैध आक्रमणको निन्दा गर्न नसकेका कारण बेइजिङको धेरै विश्वसनीयता नभएको बताएका छन् । -एएफपी

Logo