#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व66136730671489232141464
नेपाल5041

नेकपा स्थायी कमिटी बैठक : एमसिसीमा स्पष्टता माग

काठमाडौं ।

इण्डो प्यासेफिक रणनीति अन्तर्गत मिलेनियम च्यालेञ्ज कर्पोरेश (एमसिसी) ले नेपाललाई सहयोग उपलब्ध गराएको हो वा होइन निक्र्योल गरेर अघि बढ्न सत्तारुढ दलका नेताहरुले माग गरेका छन् ।

६ दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बहस गर्दै स्थायी कमिटी सदस्यहरुले एमसिसी भौतिक पूर्वाधार विकास सम्बन्धी कार्यक्रम भए त्यसलाई स्वीकार गरेर जानुपर्ने र सङ्घीय संसदबाट अनुमोदन गर्नुपर्ने, अन्यथा स्वीकार गर्न नहुने तर्क गरेका थिए ।

बैठकमा एमसिसीका बारेमा नेकपा नेताहरुकै शब्दमा ‘तातो बहस’ भएको थियो । एमसिसीका विस्तृत विषयवस्तु र सम्झौताका केही बुँदामा थप प्रष्ट्याउन जरुरी भएकाले नेतृत्वको मतैक्यतासहितको निर्देशन वाञ्छनीय हुने धारणा व्यक्त भएका थिए । एमसिसी कुनै पनि राष्ट्रको रणनीति नभई नेपालको भौतिक पूर्वाधार विकासको रणनीति भने भएको अभिमतसमेत बैठकमा प्रकट भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले एमसिसी इण्डोप्यासेफिक रणनीति अन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा स्पष्टसँग बुझेर मात्रै उपयुक्त निर्णय गरिने विश्वस दिलाएका थिए । उनले त्यसबारेमा आइतबार बस्ने बैठकमा थप स्पष्ट पार्ने बताए ।

परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले एमसिसी भौतिक पूर्वाधार आर्थिक सहायता सम्बन्धी कार्यक्रम भएको र कुनै रणनीतिमा सामेल नभएको बैठकमा अभिमत राखेका थिए । तर, नेताहरुले थप प्रष्टताको माग गरेपछि आइतबार निर्णय गर्ने गरी स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एमसिसी इण्डोप्यासेफिक रणनीति अन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा प्रष्टताको जरुरी रहेको भन्दै बैठकमा नेताहरुले आआफ्नो अभिमत प्रकट गर्नुभएको जानकारी दिए । “एमसिसीका केही बुँदामा सरकार र पार्टी नेतृत्वले स्पष्ट पार्नुपर्छ भन्ने विषयमा कुरा उठेको छ”, नेता पौडेलले भने ।

एशिया प्रशान्त क्षेत्रको गरीबी र पछौटेपनलाई हटाउँदै, भौतिक पूर्वाधारको विकास गर्ने र सम्पर्क सञ्जालको विस्तार गर्ने लक्ष्यका साथ नेपालमा पनि एमसिसी नेपालमार्फत ६४ अर्बको परियोजना अगाडि बढेको छ । त्यसमा विशेष गरी काठमाडौँको नाङ्गलेभारेदेखि नुवाकोटको रातमाटे, तनहुँ हुँदै बुटवलसम्म जोड्ने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ । यस्तै केही रणनीतिक महत्वका केही सडक सञ्जालको विस्तार तथा मर्मतसमेत सो कार्यक्रममा समेटिएको छ ।

नेपालको संविधान, कानूनभित्र रहेर एमसिसीलाई काम गर्न दिनुपर्ने र सोही आधारमा स्वीकार गर्नुपर्नेमा नेकपा नेताहरुको जोड छ । बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, “नितान्त आर्थिक सहायता हो भने त्यसमा कुनै प्रष्टताको जरुरी रहेन । त्यसबाहेक अन्य विषय पनि हो र त्यसमा आकर्षित हुन्छ भने स्पष्ट हुनु जरुरी छ ।” संविधान र परराष्ट्र नीतिसँग बाँझिएको भए त्यस्ता विषयमा पार्टी र सरकारले हेर्नुपर्ने भन्दै नेता गजुरेलले विषय उठेपछि प्रष्ट पार्नु नेतृत्वको दायित्व भएको बताए ।

स्थायी कमिटी सदस्य भीमबहादुर रावलले अमेरिकी सरकारका प्रतिनिधिले नै एमसिसी इण्डोप्यासिफक रणनीति अन्तर्गतकै कार्यक्रम रहेको बताउँदै आएकाले पनि हाम्रो हकमा पनि प्रष्टताको जरुरी रहेको बताए । उनले भने, “आर्थिक सहायता त नेपालले विश्वका विभिन्न देश र दातृ निकायबाट लिइरहेका छौँ, तर सैन्य गठबन्धनमा हामी कही कतै छैनौं । त्यस कारण एमसिसी आर्थिक सहायतासँगैको गठबन्धन हो वा होइन स्पष्ट हुनु जरुरी छ ।” सरकारले सो विषयमा निर्णय गर्दा विशेष सावधानी अपनाउनुपर्ने नेता रावलको भनाइ छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसीका बारेमा आइतबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए । एमसिसी इण्डो प्यासेफिक रणनीति अन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा आवश्यक परामर्शका आधारमा निर्णय गरिने उनको भनाइ थियो । सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट उक्त सहयोगसम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने तयारी छ । स्थायी कमिटीको बैठकमा एमसिसीका विषयमा छलफल भएपछि तथ्यका आधारमा निर्णय गर्ने निष्कर्षमा नेकपा पुगेको छ ।

केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी

यस्तै स्थायी कमिटीको बैठकले पुसको तेस्रो साता केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा छलफल गरेको छ । सम्भावित कार्यसूची अनुसार पुस २० गते केन्द्रीय कमिटीको बैठक बस्नेछ । केन्द्रीय कमिटीको बैठक पार्टी एकतापछि एकपटक मात्रै बसेको छ । पद तथा गोपनीयताको शपथका लागि मात्रै उक्त कमिटीको बैठक बोलाइएको भए पनि औपचारिकरुपमा बैठक बस्न सकेको थिएन ।

नेकपा अध्यक्षका रुपमा कार्यकारी भूमिका प्राप्त गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठकसमेत सम्पन्न गरी पार्टीलाई जनपरिचालनसहितको देशव्यापी अभियानमा लैजाने यसअघि नै बताउँदै आएका छन् । यद्यपि बैठकको मितिसमेत आइतबार बस्ने स्थायी कमिटीको बैठकले तोक्ने बुझिएको छ ।

सम्बन्धित समाचारहरु