राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन अर्थमन्त्रीको निर्देशन

राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन अर्थमन्त्रीको निर्देशन


अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । तर नियम कानूनले दिएको अधिकार भित्र रहेर कुनै पनि कार्यको कार्यान्वयन गर्न नचुक्न पनि उनको निर्देशन छ । 

विहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. महतले समग्रमा सबैले पारदर्शीका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले सेवाग्राहीका लागि  सहज र सौहाद्र्धपूर्ण वातावरण निर्माण गर्न निर्देंशन दिँदै नियम, कानूनमा करदाताहरुले तिर्नुपर्ने कुरा छ भने उनीहरुलाई तिराउन कर्मचारी सजग हुनुपर्ने बताए । उनले कर्मचारीले गर्नुपर्ने काममा भने सम्झौता गर्न नहुनेतर्फ पनि सजग गराए । 

मन्त्री महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीलाई आफ्नो जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न पनि उनले निर्देशन दिए । उनले कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा आफुलाई विश्वास रहेको उल्लेख गर्दै यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने अपेक्षा आफुले राखेको पनि बताए । 

उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोशिस गरिराख्नु भएको छ ।’

Logo