नवलपरासीमा सामसङको टेलिभिजन फ्याक्ट्री स्थापना

नवलपरासीमा सामसङको टेलिभिजन फ्याक्ट्री स्थापना


सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखाना सञ्चालनमा ल्याएको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न कारखाना स्थापना गरेको यो पहिलो उदाहरण हो ।

स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनी सामसङको नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जे.बि. पार्कले संयुक्तरुपमा गरेका थिए ।

उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रवन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्कलगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवंं प्रमुख कार्यकारी अधिकृत जे.बि. पार्कले भने, ‘नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको छ । हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँछौं । नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै गोल्छा समूहका अध्यक्ष एवं प्रवन्ध निर्देशक शेखर गोल्छाले सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने बताए । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुची देखाएकाले धन्यवाद व्यक्त गर्दै उनले सुन्दर संकेतको शुरुवात भएको बताए ।

टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुंगा हो र यसले स्थानीय उद्यम, नयाँ सिपहरु, खोजहरु र रोजगारसँग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरु सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्नेछ ।

सामसङ नेपालमा २ दशकभन्दा बढीदेखि चिरपरिचित छ । आज यो कम्पनी देशमा एक घरेलु नाम बनिसकेको छ । यसले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दछ । देशभर सामसङको ५०० वटा इलेक्ट्रोनिक्स रिटेल पसलहरु र ग्राहक सेवा केन्द्रहरुको सञ्जालमा रहेका छन् ।

Logo