कतारविरुद्ध नेपाल अलआउट, सन्दीपले जोडे सर्वाधिक रन

कतारविरुद्ध नेपाल अलआउट, सन्दीपले जोडे सर्वाधिक रन


एसिसी प्रिमियर कपअन्तर्गत नेपाल समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध अलआउट भएको छ । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको हो । नेपालका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नवौं नंबरमा आएका सन्दीप लामिछाने सर्वाधिक ४२ रनमा अविजित रहे । साथै कप्तान रोहितकुमार पौडेलले २७ रन जोडे । 

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। साथै आसिफ शेख १९ रन बनाएर पवेलियन फर्किए । यसअघि ओमानविरुद्ध शतक हानेका युवा अलराउन्डर कुशल मल्ल ३ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले १२ रन जोड्दा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए । 

बलिङमा कतारका अमिरले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, ओवाइस अहमेदले ३ विकेट लिए भने मुनवीराले २ विकेट लिए । मुहम्मद इक्रामुल्लाहको नाममा एक विकेट रह्यो । 

नेपालले ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ सेमिफाइनलमा स्थान बनाइसकेको छ ।  नेपाल यस खेलमा विजयी भएमा वा कुनै कारण अंक बाँडेमा समूह विजेता बन्नेछ । तर, पराजित भएको खण्डमा भने उपाधि उपविजेतामै सिमित बन्ने छ । समूहकै ओमानले पनि ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाइसकेको छ ।  

Logo