फरार सांसद कोइरीले संसद सचिवालयलाई पठाए पत्र

फरार सांसद कोइरीले संसद सचिवालयलाई पठाए पत्र


नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । 

लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । यहीबीच उनले आफू अस्वस्थ रहेको भन्दै संसदलाई पत्र पठाएका हुन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएका छन् । यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । माघ २५ गतेदेखि अस्वस्थ भई उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद सचिवालयले जनाएको छ ।

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।

यसअघि बसेकाे प्रतिनिधिसभा बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सांसद कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न उठाएकी थिइन् । तर सभामा सभामुखले यसबारे जानकारी गराएनन् । 

Logo