‘अयोग्य लडाकुलाई रकम र राष्ट्रपतिको विदेशमा उपचार सत्ताको चरम दुरुपयोग’ -लिङ्देन

‘अयोग्य लडाकुलाई रकम र राष्ट्रपतिको विदेशमा उपचार सत्ताको चरम दुरुपयोग’ -लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अयोग्य लडाकुलाई रकम वितरणको तयारी र राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी खर्चबाट विदेशी उपचार सत्ता दुरुपयोगको चरम नमूना भएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले देशको राजश्वले चालु खर्च समेत धान्न नसकिरहेको अवस्थामा राष्ट्रपतिको उपचार महंगो भएको बताएका हुन् ।

उनले भने, ‘निर्माण व्यवसायीलाई ८० अर्ब राज्यले तिर्न सकेको छैन । राजश्वले चालु खर्च धान्न नसकेको अवस्था छ । यस्तोमा अस्वभाविक ढंगको राष्ट्रपतिको वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुलाई रकम वितरणको तयारी सत्ता दुरुपयोगको चरम नमूना हो ।’ 

अध्यक्ष लिङ्देनले अयोग्य लडाकुलाई पैसाको साटो स्वास्थ्य उपचारमा सुविधा, सीप र रोजगारी दिन सरकारलाई सल्लाह दिए । आफूले अहिलेसम्म राज्यबाट कुनै उपचार खर्च नलिएको र भविष्यमा पनि आमनागरिकले भन्दा फरक स्वास्थ्य उपचारको सुविधा सरकारबाट नलिने उनले घोषणा गरे ।

Logo