ओलीमाथिको आक्रमणमा जातिवादीहरुको हात -चित्रबहादुर केसी

ओलीमाथिको आक्रमणमा जातिवादीहरुको हात -चित्रबहादुर केसी


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गरी उनले अध्यक्ष ओलीमाथिको आक्रमणमा जातिवादीहरुको हात रहेको भन्दै विरोध समेत जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सङ्गठनले नेपालको सन्दर्भमा संघीयताको विरोध गर्दै आइरहेको छ । हामीले भन्दै आइरहेका छौँ, संघीयता—त्यसमा पनि जातीय संघीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पु-याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण संघीयताको त्यस्तै दुष्परिणाम हो । ‘कोशी’ प्रदेशको नामकरणको सन्दर्भमा जातिवादीहरूको यस्तो गतिविधिले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न गर्ने भएकाले हाम्रो संगठन यथाशीघ्र संघीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।’

गत वैशाख १३ गते झापामा ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत समूहले आक्रमण गरेका थिए । अध्यक्ष केसीले प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त नै भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । 

Logo