५४ जिल्लाका २३८ ठाउँमा पहिरो : ११४ भन्दा बढीको मृत्यु, ५० जना बेपत्ता

५४ जिल्लाका २३८ ठाउँमा पहिरो : ११४ भन्दा बढीको मृत्यु, ५० जना बेपत्ता


काठमाडौं ।

मनसुन सुरु भए यता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौं लगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन । गृह मन्त्रालयका अनुसार पहिरोमा परी २३ जिल्लामा १ सय १४ जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ जिल्लाका ५० जना अझै बेपत्ता छन् ।

सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा, बझाङ, कास्की, जाजरकोट, धादिङलगायत जिल्लामा भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८, मल्लेसीमा पहिरोमा पुरिएर गत असार १९ गते सात जनाको मृत्यु भएको थियो, एक जना अझै बेपत्ता छन् । पहिरोबाट २१ घरपरिवार विस्थापित भएका थिए । त्यसको पाँच दिनपछि असार २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोसी गाउँपालिकास्थित गुल्कोटे र फुलपिङकट्टीमा पहिरो जाँदा ७ जनाको मृत्यु भयो । २३ जना बेपत्ता छन् । पहिरोले कोदारी राजमार्ग अवरुद्ध छ ।

असार २६ गते म्याग्दीका विभिन्न स्थानमा पहिरोबाट २८ जनाको ज्यान गयो भने चार अझै भेटिएका छैनन् । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडकखण्ड अवरुद्ध छ । पहिरोले चारवटा मोटरेबल पुलका साथै पाँच ठाउँमा सडक बगाएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवा खोलामा पहिरोमा ११ जना बेपत्ता छन् । बेपत्ताको उद्धारमा गएका एक स्थानीयको समेत मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

पहिरो र बाढीले आधा दर्जनभन्दा बढी जिल्लाका मुख्य र सहायक मार्ग अवरुद्ध बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले पहिरोबाट अवरुद्ध बेनी–जोमसोम सडकखण्ड १५ दिनभित्र र सिन्धुपाल्चोकको कोदारी राजमार्ग जतिसक्दो चाँडो सञ्चालन हुने गरी काम थाल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र सचिव देवेन्द्र कार्कीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्रीको निर्देशन अनुसार अवरुद्ध सडक खुलाउने काम अघि बढेको छैन । म्याग्दी र सिन्धुपाल्चोक मात्र होइन, उपत्यकाको ‘लाइफलाइन’ मानिएको नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक मंगलबार अपराह्नबाट एकतर्फी मात्र खुलेको छ ।कान्तिपुरबाट

Logo