वर्ल्डलिंक र पब्जीबीच इन्टरनेट सेवामा साझेदारी

वर्ल्डलिंक र पब्जीबीच इन्टरनेट सेवामा साझेदारी


इन्टरनेट मोवाइल गेमिङलाई प्रभावकारी र गेमिङको दुनियाँमा नयाँ अनुभव ल्याउने उद्देश्यले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स र विश्व प्रसिद्ध ब्याटल रोयाल गेम पब्जीबीच इन्टरनेट सेवाबारे साझेदारी भएको छ । 

आइतवार एक कार्यक्रमका बीच वर्ल्डलिंकले नेपालका लाखौं खेलाडीहरूमा मोबाइल गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने तयारीस्वरुप साझेदारी गरेकाे जनाएकाे हाे । 

मोबाइल गेमिङ उद्योगको रुपमा संसारभर द्रुत गतिमा विकास भएको बताउँदै वर्ल्डलिंकका सीईओ केशव नेपालले सहकार्यले नेपाली खेलाडीलाई द्रुत गतिको इन्टरनेटसंग जोड्ने, प्रयोगकर्ताहरूका लागि गेमिङ अनुभव बृद्धि गर्न मद्दत गर्ने तथा नेपाली खेलाडीहरुमा क्रान्तिकारी परिवर्तन आउने बताए ।   

उनले नेपालमा इन्टरनेटबाट हुने खेलका गतिविधिलाई सहयोग गर्न आवश्यक नेटवर्क पूर्वाधार उपलब्ध गराउने, सहज वातावरण बनाउने लगायतका कार्य गर्ने समेत बताए । 

पब्जी मोबाइल खेल दक्षिण एसियाको सबैभन्दा ठूलो सफलताको कथा भएकोले  नेपालमा मोबाइल गेमिङ बनाउने जोश र संकल्प साझा गर्ने एउटा उत्कृष्ट इन्टरनेट साझेदार मिलेकोमा टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माता पार्थ शर्माले खुसी व्यक्त गरे । 

उक्त साझेदारीले खेलाडीहरूले भोग्दै आएको स्लो इन्टरनेटको समस्यालाई हल गर्न महत्वपूर्ण सहयोग पुर्याउने उनले बताए । 

नेपालमा पछिल्लो समय इन्टरनेटबाट विविध खेल खेल्नेको जमात बढ्दै गएकाले त्यसका लागि द्रुत गतिको इन्टरनेटको आवश्यकता देखिँदै आएको छ । तीब्र गतिको इन्टरनेटमा पब्जी जस्ता खेल र खेलाडीको पहुँच पुग्ने हो भने नेपालमा पनि इन्टरनेट गेमिङको राम्रो सम्भावना रहेको छ ।  

Logo