#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31625011971715743036023222936
नेपाल666324291814248061

राष्ट्रिय च्याउ जागरण अभियान चलाइँदै

काठमाडौं ।

च्याउ उत्पादक किसान सङ्घ, नेपालले च्याउको महत्व बुझाउन मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । च्याउ किसानका विषयमा राज्य गम्भीर नभएको र उचित प्रचारप्रसारको अभावमा उपभोगको दरसमेत न्यून रहेकाले देशव्यापीरुपमा च्याउको महत्व बुझाउन जागरण अभियान चलाउन लागिएको काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा किसानले बताएका छन् ।

सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले पुस ९ गते झापाको काँकडभिट्टाबाट शुरु हुने मेची–महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पुस २९ गते काठमाडौँमा आएर समापन गरिने जानकारी दिए । अभियानका लागि काठमाडौँबाट ३५ जना च्याउ उत्पादक किसानको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनका अनुसार च्याउ उत्पादनमा कच्चा पदार्थको अभाव, गुणस्तरीय बीउ र बीमाको समस्या र बजारको अभाव रहेको छ । सरकारले कृषि विभाग अन्तर्गत रहेको व्यावसायिक कीट विकास केन्द्रलाई च्याउ क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ । पटकपटक अनुरोध गर्दा केन्द्रले च्याउ क्षेत्रको समस्यामा गम्भीर नभएको अध्यक्ष अधिकारीले बताए ।

नेपालमा व्यावसायिकरुपमा च्याउखेती शुरु भएको करीब चार दशकको अवधिमा च्याउको मूल्य अहिलेसम्म बढ्न नसकेको किसानले गुनासो गरेका छन् । नेपालमा कन्ये र गोब्रेका साथै सिताके, मिल्की, ग्यानोडर्मालगायत जातका च्याउको उत्पादन हुँदै आएको छ । कूल मागमध्ये २५ प्रतिशत मात्रै मुलुकमा उत्पादित च्याउले धानेको किसानले बताएका छन् । च्याउखेतीमा निजी क्षेत्रको करीब एक अर्ब २५ करोड बराबरको लगानी रहेको किसानले बताएका छन् । आयातित च्याउको प्रयोग भइरहे पनि नेपालमै उत्पादित च्याउको बजारीकरण हुन नसकेको किसानले बताए ।

सम्बन्धित समाचारहरु