वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा खर्च

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा खर्च


चितवनको इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमामा लगाउने भएका छन् ।

उनले वडाअध्यक्षलाई उपलब्ध गराइएको मोटरसाइकल र पेट्रोल खर्च समेत लिएका छैनन्। उनले भने, ‘मैले कार्यभार सम्हालेको दिन नै मासिक उपलब्ध हुने पारिश्रमिक सुविधा नलिने घोषणा गरेको हुँ, उक्त रकमले विपन्न परिवारको स्वास्थ्य बिमा गर्दैछु, वडाको सवारीसाधन प्रयोग गरेको छैन, म आफ्नै सवारी प्रयोग गर्छु, तेल खर्च पनि लिएको छैन ।’

यसैबीच वडा नम्बर ४ ले वृद्धभत्ता घरघरमै पुगेर वितरण गर्दै आएको छ। उनले भत्ता वितरण गर्न जाँदा लाग्ने खर्चको बिल भरपाई समेत कार्यालयमा पेश नगरेको बताए ।वडाध्यक्ष उप्रेतीले भने, ‘हामीले घरघरमा पुगेर वृद्धभत्ता वितरण गरेका छौँ, सोबापत हुने खर्च समेत कार्यालयमा पेश गरेका छैनौँ, ग्लोबल आईएमई बैंकले टोलटोलमा कर्मचारी खटाएर वृद्धभत्ता वितरण गर्न हामीलाई सहयोग गरेको छ ।’
 
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका उनले असहाय रोगीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएका छन् । उनले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएका छन् ।

आफूले आगामी दिनमा पनि वडाध्यक्ष बापत पाउने सेवा सुविधा नलिने बताए । ‘मैले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको हुँ, म आगामी दिनमा पनि सेवा सुविधा लिने छैन, नसक्ने अवस्था भए अर्को कुरा, म सकेको दिन्छु, लिन आएको होइन,’ वडाध्यक्ष उप्रेतीले भने ।

Logo