#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333227791002561767786224642356
नेपाल733944771901953898

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित

काठमाडौं ।

हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् । ४८० स्थानीय तहमा समेत कार्यक्रम पुगिसकेको छ । कुल सात लाख ११ हजार परिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । त्यसमा ६ लाख ११ हजार गरिब परिवार, अति विपन्न परिवारलाई पनि आबद्ध गरिएको जानकारी पोखरेलले दिए ।

डाइलासिस निःशुल्क

ओखलढुङ्गा लिखु गाउँपालिकाकी ३४ वर्षीया अनिता बस्नेतको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । राज्यले अनितालाई नियमित डाइलासिस निःशुल्क उपलब्ध गराएको छ तर उनलाई औषधि, नियमित ल्याब परीक्षणका लागि भने पैसा तिर्नैपर्छ ।

६ महिना अघिसम्म भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस गराउन आएपछि सबैले स्वास्थ्य बीमा गर्न सुझाव दिए । स्वास्थ्य बीमा गरेको तीन महिनापछि उहाँको औषधि, स्वास्थ्य परीक्षण लगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध भइरहेको छ ।

यस्तै मिर्गौला प्रत्यारोपण गरिसकेका व्यक्ति पनि स्वास्थ्य बीमा गराई त्यसपछिको औषधि भने नियमित बीमामार्फत लिइरहेका छन् । बिरामीहरूको मिर्गौैला प्रत्यारोपण भने स्वास्थ्य बीमाबाट गरिँदैन । वार्षिक तीन हजार पाँच सय रुपियाँ तिरेर स्वास्थ्य बीमा गरिसकेपछि एक लाख रुपियाँसम्मको औषधि उपचार तथा ल्याब सुविधासमेत बिरामीले पाउने गरेका छन् ।

निर्देशक पोखरेलले स्वास्थ्य बीमाले राज्यका हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्न राज्यले सेवा उपलब्ध गराएको जानकारी दिए । कपनका केशव गौतमको ६ महिना अघि वीर अस्पतालमा पत्थरीको शल्यक्रिया गर्दा ४० हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो । स्वास्थ्य बीमा गरेकैले उनको सम्पूर्ण उपचार सम्भव भयो । नेपालभरबाट थोरै लगानी गरेर एक लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाएका यस्ता धेरै व्यक्ति लाभान्वित भइरहेका छन् ।

बीमाका सकारात्मक पक्ष

अहिले स्वास्थ्य बीमा देशव्यापी रूपमा विस्तार हुँदै सबैको पहुँचभित्र पर्दैछ । आगामी वर्षभित्र देशका ७७ वटै जिल्लामा विस्तार हुने क्रममा छ । हालसम्म २५ लाख मानिस स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् । अति विकटका जिल्लामा समेत कार्यक्रम विस्तार भइसकेको छ ।
गोरखापत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार