मौसम विभागले भन्यो- आजको वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्

मौसम विभागले भन्यो- आजको वर्षाले खेलकुद र हवाई क्षेत्र प्रभावित हुन सक्छन्


आज दिनभरि जसो पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायत प्रभावमा पर्ने भएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पर्ने पानीले खेलकुद र हवाई क्षेत्रलगायतमा प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

‘देशै भरका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलवार पनि उस्तै हुनेछ । ‘मङ्गलवार पनि पहाडी क्षेत्रमा वर्षा हुनेछ भने तराईमा केही मात्रामा घट्दै जानेछ, बुधवार पहाडी क्षेत्रमा मात्र केही वर्षा हुने देखिन्छ’, उनले भने । उनका अनुसार बुधवारदेखि भने केही वर्षावाला मौसम कमजोर हुँदै जानेछ ।

आज नेपाल र संयुक्त अरब इमिरेट्स युएईका  बिचमा सोमवार पुरा हुन नसकेको खेल आज हुँदैछ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बखतमा पानी पर्न सुरु गरे पछि रोकिन पुगेको थियो ।

रोकिएको उक्त खेल सुरु गर्न प्रतिक्षा गरे पनि पानी नरोकिए पछि दिउँसो ३ बजे पछि आजसम्मका लागि स्थगित हुन पुगेको हो । जुन खेल आज ९ बजेबाट सुरु हुँदैछ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

Skip This
Logo