एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आग्रह

एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न आग्रह


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ । 

मन्त्रालयले आज सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ । 

सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्चालनमा आबद्ध हुन उल्लेख गरिएको छ । उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ । 

नेपालभर एक सय दुई अङ्कको टेलिफोनबाट एम्बुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । हाल सबैको पहुँचमा पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स सञ्जालको निर्माण भई सफ्टवेयरमा विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको मन्त्रालयले सूचनामार्फत जनाएको छ ।

Logo