नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै ‘मेरो भ्वाइस युनिभर्स’


‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन् । 

नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण हुने टेलिभिजनका महाप्रबन्धक फूलमान बलले जानकारी दिए ।

“टेलिभिजनले दुवै ‘सो’ मा मिडिया पार्टनरका रूपमा सहकार्य गरेको छ । नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई विश्वमा रहेका बढीभन्दा बढी नेपालीसम्म पु-याउनु हाम्रो उदेश्य हो”, महाप्रबन्धक बलले भने, “यो कार्यक्रमले विश्वभर रहेका नेपालीलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ । यसका विजेताले आकर्षक राशिको पुरस्कार त पाउँछन् नै त्योभन्दा पनि सोमार्फत संस्कृति प्रवर्द्धनमा गरिएको प्रयास उल्लेखनीय छ ।” 

त्यसैगरी, नृत्यसँग सम्बन्धित ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण हुनेछ । दुवै सोहरू तीस–तीस एपिसोडको हुने समेत उनले जानकारी दिए । यी कार्यक्रमको महत्वलाई बुझेर नेपाल टेलिभिजनले ‘प्राइम’ समयमै प्रसारणको व्यवस्था गरेको र दुवै कार्यक्रम एक घन्टा दश मिनेटको हुने महाप्रबन्धक बलले जानकारी दिए । 

नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।

गायन रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन् । यसैगरी, नृत्यतर्फको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की तथा नरमान राई छन् । 

यी कार्यक्रमको प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन् । नेपालमा आयोजना भएका रियालिटी सोमध्ये यी सोमा अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ । गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ । 

संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच गत महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् । ती प्रतिभाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतले भेटेर शुभकामना दिएका छन् । 

Skip This
Logo