शरणार्थी प्रकरण : ठगीकाे नयाँ धन्धा [भिडियाेसहित]

शरणार्थी प्रकरण : ठगीकाे नयाँ धन्धा [भिडियाेसहित]


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम असुलेपछि पीडितले दिएको उजुरीबाट सुरु भएको अनुसन्धानले अहिले मुलुकको सुरक्षा संयन्त्रको नेतृत्व सम्हाल्ने गृह मन्त्रालयकै नेतृत्वलाई समेत कानुनको कठघरामा उभ्याएको छ ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ भने विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । 

के हो घटना ?
पछिल्लो डेढ महिनादेखि नेपाल प्रहरी एउटा गम्भीर कसुरको अनुसन्धानमा छ । ४ सय २९ जना व्यक्तिलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ५० लाखसम्म असुल गरेको घटनामा प्रहरी अनुसन्धानले उक्त गिरोहका आठजनालाई पक्राउ गरेको छ ।

जसमा गृहका अधिकारीदेखि उच्च राजनीतिक नेतृत्वका व्यक्तिहरु संलग्न भएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

पक्राउ पर्नेहरुमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,तत्कालिन गृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, काँग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका निजी सहायक मोरङका केशव दुलाल, ललितपुरका व्यवसायी सानु भण्डारी, पाँचथरका, टंक गुरुङ,सागर राई,पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी,सन्देश शर्मा पोखरेल रहेका छन् ।

यतिमात्रै नभई यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा समेत मुछिएका छन् । प्रहरीका अनुसार हालसम्म यस प्रकरणमा १४ जनाको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको छ । जसमध्ये केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल हिरासतमै छन् । 

ठगी गिरोहले शरणार्थी फारम भर्ने प्रतिव्यक्तिबाट रु १५ देखि २० लाख असुलेको बताइएको छ । गिरोहले हालसम्म ८१ जनाबाट २३ करोड रुपैयाँभन्दा माथि उठाएको प्रहरीको भनाइ छ ।गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेको थियो ।

विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेको खुलेको छ । गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको प्रहरीले बताएको छ ।

गिरोहले पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ ।

उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै रु आठ करोड बराबरको चेक समेत दिएका थिए । उनीहरुले यसरी उठाइएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेको पाइएको छ ।  

Logo