चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दोः एकल पुम्सेमा युनिका र भिजनलाई स्वर्ण

चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दोः एकल पुम्सेमा युनिका र भिजनलाई स्वर्ण


पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सुन्दरीमाइ तेक्वान्दो डोजाङ नेपालद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन पहिलो भएका हुन् । महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइकेल दोश्रो तथा शुसंस्कारकी सिजल लामा र चन्द्रागिरीकी सिमानी लामा तेश्रो भए । पुरुषमा एनटीएका आयुश ढुंगेल दोश्रो तथा चन्द्रागिरीका लवाङ लामा र आयोजकका आर्दश बुढाथोकी तेश्रो बने ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा एम्बासडरका कविर मगर पहिलो भए । उनले फाइनलमा एनटीएका अर्थ कुइकेललाई पराजित गरे । 

२५ केजीमा एनटीएका प्रशान्त धमलाले एम्बासडरका सञ्जीव जिरेललाई हराउदै स्वर्ण जिते । २८ केजीमा चन्द्रागिरीका समिर ठाकुरले शीर्ष स्थान हात पारे । समिरले फाइनलमा एनटीएका कुशल बाँस्तेलालाई पाखा लगाए ।

गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको महिला २० केजीमा आयोजककी पुनम घिमिरेले फाइनलमा एनटीएकी स्मारिका गौतमलाई पन्छ्याउँदै पहिलो भइन् । २५ केजीमा कोटेश्वरकी हृदयानी बस्नेतले एम्बासडरकी याङगी शेर्पाको चुनौती समाप्त पार्दै स्वर्ण चुमिन् । ३२ केजीमा एनटीएका भिजन तामाङले पुष्पलालका सुवास भुजेलमाथि जित रच्दै शीर्ष स्थान हात  पारे ।

प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले निर्णायकलाई एक कार्यक्रमबीच खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । प्रतियोगितामा गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी जम्मा २३ स्पर्धामा ३ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Logo