भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : माधव नेपाल

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई विभिन्न दबाब आएको हुन सक्ने भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। 

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै नेपालले भने, “यो प्रकरणमा प्रधानमन्त्रीलाई पनि दबाब आएको हुनसक्छ तर यसको निष्पक्ष छानबिन हुनुपर्छ ।” 

नेपालले उपचुनावको परिणामले परम्परागत र पुराना राजनीतिक दलहरूको कार्यशैली तथा जनताको असन्तुष्टि प्रस्ट रुपमा देखिएको भन्दै अब सुधार भएर जानुपर्ने सुझाव दिए। “निर्वाचनको परिणामले पुराना दललाई सुध्रने सन्देश दिएको छ,” नेपालले भने। 

कोसी प्रदेश नामाकरणको विषय प्रदेशका सांसदहरूको अधिकार र जिम्मेवारीको विषय भएको उनको भनाइ छ। यसबारे कोसी-सगरमाथा, सगरमाथा वा कोसी आदि धेरै नामको विषयमा पहिले पनि चर्चा भएको बताए। 

उनले भने, “सांसदहरूले आफ्नो अधिकार प्रयोग गरेर कोसी नामकरण गर्नु भएको छ। यो एउटा कानुनी र अधिकार प्रदत्त विषय पनि हो।” 

Logo