अब सांसदहरुको ई-हाजिरीको व्यवस्था गरिने

अब सांसदहरुको ई-हाजिरीको व्यवस्था गरिने


संघीय संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको ई-हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको छ । 

आइतबार सिंहदरबारमा बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले यही अधिवेशनबाट इलेक्ट्रोनिक हाजिरी गर्ने निर्णय गरेको हो । साथै लगातार संसदमा बस्ने कम्तिमा १० जना सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने र सभामुख र उपसभामुख तटस्थ हुनुपर्ने पनि बैठकले निर्णय गरेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

वैठकपछि उनले भने ‘सदनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुँदा सांसदहरु हाजिरी गरेर हिड्ने चलन रहेकोले सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्नुपर्ने निर्णय भएको हो । यस्तै अनुपस्थित हुनेको मात्र नभई लगातार संसदमा बस्ने कम्तिमा १० जना सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने विषयका साथै      सभामुख र उपसभामुख तटस्थ हुनुपर्ने विषयमा पनि निर्णय भएको छ । ’  

त्यसैगरी वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि–बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ । वैशाख २५ देखि २७ गतेसम्म प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका बनाएको पनि सांसद खतिवडाले जानकारी दिए ।

परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्ने समेत विषयमा पनि छलफल भएको उनले बताए  ।

Logo