#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20628042748126635328713526629
नेपाल2443291761316728

गोकर्ण विष्ट: गुटबन्दीको सिकार भएका इमान्दार नेता

सङ्गठन विस्तार र सङ्गठनभित्र पकड जमाइराख्न केपी ओलीले विस्तार गरेको गुटबन्दीको जालो पार्टीभित्र निकै बलियो मानिन्छ । त्यो जालो जोकोहीले तोड्ने कुरा परको भयो बुझ्नसम्म सक्दैनन्।

नेकपा बन्नु अगाडिदेखि नै हालको पाँच नम्बर प्रदेश अर्थात् बुटवललाई केन्द्र मानेर हेरिने क्षेत्रमा प्रभाव पार्न सक्ने नेताहरूमध्ये एमालेभित्र केपी ओलीका विश्वासपात्र भनेर शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु पौडेललाई बुझ्ने गरिन्छ ।

अहिले पाँच नम्बर प्रदेशमा यिनै तीनजना नेताको खिचातानी र खुट्टा तानातानको लडाइँ हामी सबैले देखिरहेकै छौँ । कमरेड शङ्कर पोखरेल पाँच नम्बर प्रदेशको मुख्यमन्त्री भएपछि उनको सोझो लडाइँ विष्णु पौडेलसँग सुरु भएको थियो । पौडेल बुटवललाई प्रदेश राजधानी बनाउन चाहन्छन् भने पोखरेल दाङलाई प्रदेश राजधानी बनाउन चाहन्छन् ।

यता प्रदीप ज्ञवाली र विष्णु पौडेल दुवै नेता हामी गुटबन्दीमा विश्वास गर्दैनौँ भन्दै भाषण गर्ने नेतामध्ये पर्दछन् तर साँझ पर्ने बित्तिकै गुटबन्दी सुरु गर्छन् । उनीहरू पनि दुवैजनाको प्रभुत्वको लडाई छ पाँच नम्बर प्रदेशमा । अहिले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री हुँदा विष्णु पौडेल पार्टीको जिम्मेवारीमा सीमित छन् । विष्णु पौडेल मन्त्री नबनेको भए पनि तत्कालीन श्रम मन्त्रीमा गोकर्ण विष्टको नियुक्ति त्यही शक्ति सन्तुलनको लागि भएको थियो ।

त्यो सन्तुलन वा समीकरण जे भए पनि प्रभावशाली तीन नेतामध्ये पोखरेल मुख्यमन्त्री, ज्ञवाली परराष्ट्र र पौडेलका तर्फबाट विष्ट श्रम मन्त्री । यो सहमतिले पाँच नम्बर प्रदेशको समीकरण सन्तुलित बनेको थियो हालांकी माधव कुमार नेपाल गुटको प्रभावले गर्दा त्यो सम्भव भएको थियो यो सबैले बुझेकै कुरा हो  ।

त्यसपछि पाँच नम्बर प्रदेशको राजधानी तोक्ने विषयमा अन्तिम भनिएको लडाइँ सुरु भयो । विष्णु पौडेललाई साथ दिँदै गोकर्ण विष्टले प्रदेश राजधानी बुटवल हुनुपर्ने राय व्यक्त गरेको हल्ला चलेपछि ज्ञवाली-पोखरेल एलायन्सले विष्णु पौडेललाई कमजोर बनाउने जुक्ति निकाले, त्यो हो श्रम मन्त्रालयबाट गोकर्ण विष्टको निष्कासन । यो विष्णु पौडेलको लागि ‘पोखरेल-ज्ञवाली गुट’ ले दिएको चुनौतीजस्तै देखिन्छ ।

परराष्ट्र मन्त्री भएका नाताले ज्ञवालीको विष्टसँग सोझो तालमेल बन्नुपर्ने हुन जान्छ किनकि श्रम मन्त्रालय वैदेशिक रोजगारीसँग प्रत्यक्ष सरोकार राख्ने र परराष्ट्र तालुकवाला मन्त्रालय भएको कारण पनि कार्यगत एकता हुने नै भयो । मतलब श्रम गन्तव्य मुलुकका सबै राजदूतहरू मन्त्री प्रदीप ज्ञवाली मातहत रहने भए । तिनै राजदूतहरूसँग मन्त्री गोकर्ण विष्टले काम गर्नुपर्ने अवस्था भयो ।

खिचातानीको अवस्था कहाँसम्म पुग्यो भने श्रम मन्त्रिले फोन गर्दा राजदूतहरूले फोन नउठाउने लगायत असहयोग गर्न थाले । परराष्ट्र मन्त्रीको निर्देशनमै त्यसो भएको भन्ने अनुमान लगाउन गाह्रो पर्दैन यहाँ किनकि ज्ञवाली जुनसुकै मूल्यमा विष्टलाई मन्त्रीबाट हटाएर विष्णु पौडेललाई कमजोर बनाउन चाहन्थे ।

लगत्तै भएको वैदेशिक रोजगार व्यवसायीहरूको निर्वाचनमा नेकपा प्यानल नराम्रोसँग पराजित भयो । दुई तिहाइ सरकारको समर्थन रहेको सिङ्गो प्यानल पराजित हुनु भनेको वैदेशिक रोजगार व्यवसायबाट पार्टीको पकड सकिँदै गएको अर्थमा हेरियो र यो सबै गरेको गोकर्ण विष्टले हो भनेर प्रधानमन्त्रीलाई ब्रिफीङ गर्ने काम प्रदीप ज्ञवालीबाट भयो, त्यो काममा राजदूतहरूले समेत गलत तरिकाले साथ दिए किनकि वैदेशिक रोजगार एजेन्ट मार्फत हुने मोटो कमाइ गुमाउन पुगेका राजदूतहरू विष्टसँग रुष्ट छँदै थिए त्यसलाई सल्काउने काम मन्त्री ज्ञवालीले गरे ।

गोकर्ण विष्टको कार्यशैलीको कारण जनता लुट्न र चुस्न नपाएर छटपटाएका श्रम व्यवसायीहरू, श्रम गन्तव्य मुलुकमा घुस खाएर स्वीकृति दिन बानी परेका तर गोकर्ण विष्टकै कारण रोकिएका राजदूतहरू उनको विरोध गर्दै प्रधानमन्त्रीलाई भेट्नै गए । यसको सत्य तथ्य प्रमले बुझ्न खोजेनन् उनले परराष्ट्र मन्त्री सँग सोधे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विष्टलाई हटाऊँ प्रमज्यू सबै समस्या समाधान हुन्छ भन्ने सुझाव दिए । अनि केपी ओलीले आँखा चिम्लेर निर्णय गरे र गोकर्ण विष्ट मन्त्रालयबाट बाहिरिए ।

यहाँ श्रम मन्त्री प्रचण्ड खेमाका हुन्थे भने पनि ओलीले त्यति सजिलै हटाउन सक्ने थिएनन् । विष्णु पौडेलको पक्षमा शङ्कर पोखरेल हुन्थे भने पनि विष्ट यति सजिलै हट्ने थिएनन् । दाङ राजधानी बनाउन पोखरेल पक्षको समर्थनमा ज्ञवाली मौन बस्नु, विष्णु पौडेललाई कमजोर बनाएर आफ्नो प्रभुत्व जमाउन ज्ञवालीले पोखरेलको साथ खोज्नु र एक ठाउँ मा आउनु, वैदेशिक रोजगार व्यवसायीको निर्वाचनमा हारको कारण विष्ट हुन भनेर ब्रिफीङ हुनु र राजदूतहरूले गलत तरिकाको रिपोर्टिङ गर्नु इत्यादि कारणले प्रदीप ज्ञवालीले सोझो फाइदा उठाउन सफल भए ।

गोकर्ण विष्टलाई हटाएर विष्णु पौडेललाई कमजोर बनाइयो भन्ने उनीहरूको ठहर छ । अब पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन अर्को लबिङ सुरु हुन्छ र त्यसो भयो भने पार्टीभित्र विष्णु पौडेलको पकड लगभग समाप्त भई ज्ञवाली युगको सुरुवात हुन्छ ।

यसरी क्षेत्रीय स्तरको गुटबन्दीको कारण एकजना इमान्दार नेता कसरी कोपभाजनको सिकार हुनु पर्दो  रहेछ भन्ने कुरा बुझ्न सकिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार