दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजनाको तयारी सम्पन्न

दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजनाको तयारी सम्पन्न


नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले मे ११ देखि १३ सम्म लुम्बिनीमा हुने दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजनाको तयारी सम्पन्न गरेको छ । 

पर्यटकीय आगमनलाई तीब्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्ध भूमि लुम्बिनीलाई केन्द्रमा राखेर विश्वभर नेपालको सम्पदा, अध्यात्मिक लगायत पर्यावरणीय साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नाट्टाले जानकारी दिएको छ । 

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोही मन्त्रालयका सचिवको अध्यक्षतामा गठन गरेको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समितिको सदस्य सचिव एवं कार्यक्रम कार्यान्वयन गर्ने संस्थाका रूपमा नाट्टा रहेको छ । 

नाट्टाले मे ११–१३ का लागि भारत, मलेसिया, चीन, दक्षिण कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट ३५ भन्दा बढी ट्राभल/टूर कम्पनीहरु सहभागी हुने र नेपालवाट पनि सोही संख्यामा ट्राभल/टूर कम्पनीहरु विक्रेताका रूपमा सहभागी गराई कार्यक्रम समेत सञ्चालन गर्ने गरि तयारीको काम टुंग्याइएको जनाइएको छ । 

कार्यक्रमको उद्घाटन लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा मे ११ को दिन विहान ९ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको छ । 

अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टुर/ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टूर/ट्राभल कम्पनीहरुसंग व्यापार साझेदारी गर्ने संभावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरका पर्यटक ल्याउन थप मद्धत पुग्ने विश्वास  लिइएको छ । त्यसका साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमावस्थलको संचालनमा सहयोग पुग्ने विश्वास पनि लिइएको छ ।  

Logo