स्याङ्जाकाे पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’

स्याङ्जाकाे पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’


सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो ।

स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखिएको फल लाग्ने चार वटा बिरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थिएन । जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उनले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिए ।

सुरुमा लगाइएका चार वटा बेर्नाले उनलाई व्यावसायिक बन्नमा महत्त्वपूर्ण भूमिका खेल्यो । ‘कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो’, उनले भने ‘फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ ।’

दिउँसोको समयमा संस्थागत विद्यालयमा अध्यापनरत उनले विशेष गरी बिहान, साँझ वा बिदाका दिनमा ड्रागन खेतीको विस्तारमा ध्यान दिए । ‘अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो’, उनले भने, ‘जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो ।’

पन्ध्र वर्षअघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि बर्सेनि आफैँले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उनी बताउछन् । सुन्तला उत्पादन हुन्छ कि भन्ने लागेर केही वर्ष सुन्तलाका बोट लगाइएको थियो । सुन्तलाका बोट ठाडै मरेपछि माटो परीक्षण गर्दा ड्रागन उपयुक्त हुन्छ भन्ने कृषि विज्ञसँगको परामर्शपछि ड्रागन खेती थालिएको उनले बताए।

‘परीक्षणका लागि ल्याइएको चार वटा बेर्नाले व्यवसायी बनाउँछ भन्ने लागेको थिएन’, उनले भने, ‘धान, मकै, गहुँजस्ता खाद्यान्न बालीबाट भन्दा यसबाट आम्दानी धेरै हुने गरेकाले यसतर्फ आकर्षित भएको हुँ ।’ चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर व्यावसायिक उत्पादन थालेका रानाले गत वर्ष रु ६० हजार आम्दानी गरेका थिए।

गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उहाँ बताउछन् । आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उनीसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन् । आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उनको अनुमान छ । त्यसबाट राम्रै आम्दानी हुने अपेक्षा छ ।

करिब दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले वृद्धि हुने उनी दाबी गर्नुहुन्छ । ‘सबै बोटले फल दिँदा एक सिजनमा रु १२ देखि १५ लाख आम्दानी हुन्छ’, उनले भने, ‘अहिले प्रतिकेजी रु छ सयका दरले बिक्री हुँदै आएको छ ।’ यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारमा सहजरुपमा बिक्री भइरहेको छ ।

अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले मागअनुसार पुर्‍याउन नसकिएको उनले बताए । उनले ड्रागन खेतीसँगै मिश्रित बालीको रूपमा अकबरे खुर्सानी, कुरिलो, बन्दा, बदाम, गाँजरलगायतका तरकारी बाली लगाएका छन्।

उत्पादन राम्रो हुनुका साथै बजारमा माग बढ्दै गएकाले क्षेत्र विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । ‘परम्परागतरुपमा गरिँदै आएको खेती प्रणालीबाट फाइदा हुन्छ जस्तो मलाई नलागेकाले धान, मकै, गहुँको साटो व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ’, उनले भने ।

Logo