ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका


म्याग्दीको बेनी नगरपालिकाले ग्रामीण सडकलाई पक्की बनाउने योजना कार्यान्वयन गरेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्रै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्की बनाउने योजना अघि बढाएको छ ।

ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताए । ‘नगरपालिकाका १० वटै वडाका सबै बस्तीमा सडक पुगिसकेको छ । यसअघिका वर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए’, उनले भने, ‘यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौँ ।’

सडक बनाएको भन्दा वर्षात्मा पहिरो नियन्त्रण र बर्सेनि मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाइ छ ।

पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताए । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु आव २०७९/८० मा दुई वटा प्याकेजमा रु एक करोड २५ लाख विनियोजन भएको छ ।

दुवै प्याकेजमार्फत चार सय ५० मिटर ढलान, तीन सय ५० मिटर नाली, तीन सय मिटर पर्खाल निर्माण र तीन सय ५० मिटर सोलिङ हुँदैछ । बेनी नगरपालिका–४ स्थित तातोपानी बजारमा तीन सय २५ मिटर सडक कालोपत्र भइरहेको छ । ७० लाखमा ठेक्का सम्झौता भएको महारानी थान–छाप–ठूलोखोला सडक आयोजनामार्फत एक सय ७२ मिटर सडक ढलान हुँदैछ ।

बेनी–पाखा पानी सडकको जामुना खर्क, अर्थुङ्गे–पुला चौर सडकको बाँस बोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ । बेनी नगरपालिकाका योजना अधिकृत कृष्ण सुवेदीले यस वर्षका एक सयभन्दा बढी योजना सडक ढलान र पक्की नाली निर्माण गर्नेसँग सम्बन्धित रहेका बताए ।

नगरपालिकाका इञ्जीनियर विमल रञ्जन कार्कीले भिरालो भूगोलको सडकमा गरिएको कालोपत्र नटिक्ने भएकाले दिगो र टिकाउका लागि ढलान प्रभावकारी देखिएको बताए । भुईँमा ढुङ्गा बिछ्याएर, रड बानेर, सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएको कालोपत्र बलियो हुने इञ्जीनियर कार्कीको भनाइ छ ।

सडक ढलान भएपछि घर अगाडि हिलोमा गाडी फस्ने, धुलो हुने समस्या हटेको बेनी नगरपालिका–५ भिरमुनिका कृष्ण कार्कीले बताए । ‘गाडी नचल्दा सामान ढुवानी र आवतजावतमा सास्ती खेपेका थियौँ, अहिले सहज भयो’, उनले भने, ‘ढलान गर्दा पानीले पनि असर गरेन ।’

Logo