झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु

झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु


रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

श्रीमान् र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनीको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । चन्द्राका श्रीमान् उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।

‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, सोही क्रममा मृत्यु भएको रहेछ’, ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले भने ।

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Logo