चन्द्रागिरीमा पाइने एउटै ढुंगाको मूल्य २ लाख ! (फोटो फिचर)

काठमाडौं ।

मकवानपुर र काठमाडौंको सिमाना चन्द्रागिरी पर्वतमा वर्षाैदेखि सडक मर्मतको क्रम चलिरहेको छ । सडक मर्मतका क्रममा निस्किएको ढुंगा अवैधरुपमा विक्रि वितरण भएको भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । तर, त्यही चन्द्रागिरीमा पाइने विशेष ढुंगाको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा संकटमा परेको छ ।

कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको छ । ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाईमस्टोन नामको ढुंगाको सहज आपूर्ति हुन नसक्दा ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका हुन् । चुनाको मात्रा बढी भएको ब्ल्याक लाईमस्टोन सहज उपलब्ध हुन नसक्दा ढुंगाको मूर्ति बनाउने व्यवसायमा नयाँ पुस्ता त प्रवेश गर्न सकेका छैनन नै पहिले देखिनै पेशामा लागेकाहरुले पनि व्यवसायबाट हात झिक्दै गएका छन् ।

चन्द्रागिरी पहाडको फर्पिङ, टिस्टुङ क्षेत्रमा पाईने ब्ल्याक लाईमस्टोनको किनबेच नै नभएपछि ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका हुन् । ढुंगाको मूर्ति व्यवसायमा आवद्ध कलाकारहरु २०४६ सालपछि ढुंगाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाएको भएपनि मुलुक संघीयता गएपछि कच्चा पदार्थकै अभाव झेल्नु परेको गुनासो गर्छन् । विशेष गरेर स्थानीय सरकार अनुसारका फरक फरक नियम कानुन र एक अर्काबीच समन्वयको अभावका कारण ढुंगाको अभाव भएको कलाकार प्राज्ञ धर्मराज शाक्यको भनाई छ । हस्तकला महासंघका पूर्व अध्यक्ष समेत रहेका कलाकार शाक्यले आफ्नै बारीको ढुंगा पनि जनताले बेच्न नपाउनु तथा कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने व्यवसाय नै संकटमा पर्नु दुखद भएको बताए ।

ढुंगाको मूर्ति बनाउनका लागि पहिले हात्तीवनको ग्वाल्ठाबाट ढुंगा ल्याउने गरिन्थ्यो । पछि फर्पिङको खार्पाबाट ल्याउन थालिएको थियो । अहिले सो स्थानबाट पनि ढुंगा निकाल्न दिईएको छैन । गुणस्तरीय ढुंगा नपाएपछि कम गुणस्तरको ढुंगाबाट मूर्ति बनाउँदा स्तरीय नहुने र समग्र व्यवसाय नै बद्नाम हुने जोखिम पनि बढेको उनले बताए । ढुंगा नपाएका कारण मूर्ति बनाउने पेशा गर्दै आएका कलाकारहरु पेशा नै छोडेर अन्यत्र जाने क्रम बढेकाले सिंगो व्यवसाय नै संकटमा पर्ने भन्दै उनले ढुंगाको मूर्ति बनाउने परम्परागत कला र संस्कृति नै लोप हुने खतरा बढेकोमा चिन्ता व्यक्त गरे ।

विगतको तुलनामा स्वेदशी बजारमा माग घटेपछि विदेशमा अझै पनि नेपाली कला र संस्कृति झल्किने ढुंगाको मूर्तिको माग बढ्दो रहेकाले यसको विकास र प्रर्वद्धनका लागि छुट्टै अध्ययन अध्यापन गर्ने गरी स्वायक्त संस्था गठन गर्नुपर्ने तर्क कलाकार शाक्यको छ । त्यसैगरी व्यवसायीक तालिम र प्रशिक्षण दिनुपर्ने तथा धर्म र संस्कृतिमा आधारित कला भएकाले धर्म दर्शन पठाउने व्यवस्था मिलाउनुको साथै ढुंगाको मूर्ति मात्रै बनाउने छुट्टै औद्योगिक ग्राम बनाउनुपर्ने उनको सुझाव छ ।

हस्तकला महासंघका अनुसार मुलुकभर १ हजार जना कलाकारहरु ढुंगाको मूर्ति बनाउने काममा संलग्न रहदै आएका छन् । तर यो पेशामा नयाँ पुस्ता आकर्षित हुन भने सकेका छैनन् । पुर्खौली पेशाको रुपमा मात्रै पुस्तान्तरण हुदै आएको मूर्तिकलाको विकास र विस्तारका लागि सरकारले पहल नगर्ने हो भने यो व्यवसाय केही विशेष परिवारमा मात्रै सिमित रहने र अन्तत लोप हुदै जान सक्ने खतरा देखिएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचारहरु