बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको लागि मुगुमा वन प्रवेश खुल्ला

बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको लागि मुगुमा वन प्रवेश खुल्ला


मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मरोङ गाउँपालिकाको विभिन्न  वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनको लागि शुक्रबारदेखि वन प्रवेश खुल्ला गरिएको छ । 

यार्सागुम्बा संकलनका लागि जिल्लावासी र जिल्ला बाहिरबाट आउने सर्वसाधारणका लागि वन प्रवेश खुल्ला गरिएको हो । वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलकर्ताले वन प्रवेश अनुमति पाउने मुगुमकर्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाष चन्द्र रावलले जानकारी दिए ।

यार्सागुम्बा संकलनका लागि जिल्ला भित्रका नागरिकलाई प्रतिव्यक्ति २ हजार र बाहिरी जिल्लाका संकलकर्ताका लागि २५ सयका दरले कर लिने गरिएको छ । मुगुमकार्मरोङ गाउँपालिकाको वडा न १ र २ मा पर्ने वन क्षेत्र रिमाड, ठूलो कुईकी,सानो कुईकी,च्यार्खु ,छापाखोला लगायतका वनक्षेत्रमा यार्सागुम्बा पाइन्छ । 

यार्सागुम्बा संकलन अवधिभर त्यस क्षेत्रको सुरक्षा कडा पारिएको छ । यार्सा संकलकहरु आउने क्रम जारी रहेकोले आजसम्म कति जनाले यार्सा संकलनका लागि पन क्षेत्रमा जान रसिद काटे,कति राजश्व संकलन भयो भन्ने हिसाब गर्न बाँकी रहेको मुगमकामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरीङ्ग क्याप्र्ने लामाले बताए ।

बहुमूल्य जडीबुटी यार्सा संकलन गर्नको लागि आउने सबै नागरिकहरुलाई सुरक्षा व्यवस्थापन, स्वास्थ्यमा आउने समस्यालाई मध्यनजर गर्दै औषधिसहित स्वास्थ्यकर्मीको टोलीको व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

गत वैशाख २२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरो जाँदा यार्सा टिप्न पाटन पुगेका जुम्ला पातारासी गाउँपालिका–२ तल्फीगाउँका १५ जनामध्ये तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको दुई हप्ता वितिसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थल सम्म पुग्न सकिरहेको छैन । 

हिमाल तथा पाटनमा १० फिट भन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्धारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले  सुरक्षाकर्मीले सिरानी चौर बेसक्याम्प खडा गरेर प्रत्येक दिन बेपत्ताहरुको खोजीको लागि प्रयास गर्दै आएको बताए । तर हिउँ परिरहने र परेको हिउँ पनि बाक्लो गरि जमेकोले बेपत्ता क्षेत्रसम्म पुग्न असम्भव भएको पनि उनले बताए । 

Skip This
Logo