नेपालकाे समूहमा विश्वविजेता वेस्ट इन्डिज र आयोजक जिम्बावे पनि

नेपालकाे समूहमा विश्वविजेता वेस्ट इन्डिज र आयोजक जिम्बावे पनि


आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल कठिन समूहमा परेको छ । 

आईसीसीले आज गरेको ड्र अनुसार नेपाल दुई पटकको विश्व विजेता वेष्टइण्डिज र आयोजक जिम्बावे सम्मिलित समूहमा परेको हो । समूह ‘ए’मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

१० टोली सहभागी विश्वकप छनोट आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेर आजदेखि तयारी थालेको छ। एक हप्ताको बन्द प्रशिक्षणपछि टोली अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जानेछ । त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । यो खेल वार्मअप म्याच हुनेछ । एक हप्ताको तयारीपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा छन्। 

Logo