नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता, अभियुक्तलाई कुन कसूरमा कति सजाय ?

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता, अभियुक्तलाई कुन कसूरमा कति सजाय ?


सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।
       
उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भने, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको  हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” 

अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।

दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।
  
जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध रु २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।

हालसम्म घटनामा संलग्न पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई प्रहरीले पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् । 

साथै फरार रहनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जन, ३४ वर्षीय हरिभक्त महर्वज, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई, ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन् । 

 

 

 

Skip This
Logo