प्रधानमन्त्री ओली सत्ताका लागि जे पनि गर्न सक्छन –गगन थापा

प्रधानमन्त्री ओली सत्ताका लागि जे पनि गर्न सक्छन –गगन थापा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद गगन थापाले पद र सत्ताका लागि प्रधानमन्त्री केपी ओलीले जे पनि गर्न सक्ने बताएका छन् । शुक्रबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै नेता थापाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीका कारण सिर्जना भएको अयोध्या विवादतर्फ लक्षित गर्दै नेता थापाले ओलीले देशका लागिभन्दा पनि आफ्ना लागि जे पनि गर्न सक्ने बताए । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुनु देश र जनताका लागि घातक भएको नेता थापाको भनाइ छ ।

त्यस्तै नेता थापाले अहिलेको अवस्थामा नेकपाले आन्तरिक द्वन्द्वका कारण सारा देशलाई बन्धक बनाएको आरोप लगाए । देश कोरोना, बाढी पहिरो तथा डुबानमा परेको बेला सत्ता, पद र कुर्चीका लागि नेकपाभित्र लडाइ हुनु दुःखद भएको उनले बताए । देश असामान्य अवस्थाबाट गुज्रिएको बेला सरकारको काम गराइले जनतामा झन निरासा छाएको उनको दाबी छ । नेकपाभित्र मात्र विवाद सिमित भए कांग्रेसको कुनै आपत्ति नहुने भएपनि नेकपासँग सरकार र सरकारसँग सारा नेपालीको भविष्य जोडिएकाले कांग्रेस त्यतिकै चुप लागेर बस्न नसक्ने नेता थापाको भनाइ छ ।

त्यस्तैगरी नेता थापाले कांग्रेसको १४ औँ महाधिवेशनमा युवा नेतृत्व अगाडि आउने दाबी गरे । कांग्रेसमा युवा नेतृत्वको खाँचो छ भन्दै भाषण गर्नेहरुले महाधिवेशनमा युवा नेताहरुलाई नपत्याएको देख्दा दुःख लाग्ने उनको भनाइ छ । १३ औँ महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिएपनि सबैबाट साथ नहुँदा आफू पराजित हुनु परेको उनले बताए । अहिलेको महाधिवेशनमा युवा पुस्ता जसरी पनि अगाडि आउनुपर्नेमा थापाको जोड छ ।

युवा नेतृत्वबाट जुनसुकै पदका लागि उम्मेदवारी आएमा आफ्नो साथ रहने भन्दै उनले यदि कसैले अगाडि बढ्ने हिम्मत नगरे आफू अगाडि बढ्ने त्यसमा सबैले सहयोग गर्नुपर्ने आग्रह समेत गरेका छन् । पहिलेको कांग्रेस र अहिलेको कांग्रेसलाई हेर्दा उल्लेख्य रुपमा युवा नेताहरुको सक्रियता बढेको पाइने उनले बताए । लामो समयदेखि पुरानो पुस्ताबाट चल्दै आएको पार्टीमा एकै पटक परिवर्तन सम्भव नहुने भएपनि असम्भव भने नभएको उनको भनाइ छ ।

Logo