लघुवित्तको नाफामा भारी गिरावट, १३ कम्पनी नोक्सानमा

लघुवित्तको नाफामा भारी गिरावट, १३ कम्पनी नोक्सानमा


चालू आर्थिक वर्षको ९ महिनामा करिब ९२.९८ प्रतिशत लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेका संस्थामध्ये ७.०१ प्रतिशत संस्थाको मात्रै नाफा बढेको छ । नाफा घटेको संस्थामा पनि १३ वटा संस्था घाटामा गएका छन् ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ४४ करोड ८६ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालू आवको सोही अवधिमा ५७ वटा लघुवित्तको नाफा ६०.१२ प्रतिशतले घटेर ३ अर्ब ७६ करोड ८२ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । संस्थाहरुले प्रकाशित गरेको वित्तीय अवस्थाअनुसार ४ वटा कम्पनीको नाफा बढेको छ भने ५३ वटाको नाफामा गिरावट देखिएको छ ।

नाफा बढेका ४ कम्पनी
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले गरेको छ । यो अवधिमा कम्पनीले ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २२.८१ प्रतिशत बढी हो । साना किसान लघुवित्तले ५८ करोड ७६ लाख नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६.९३ प्रतिशतले बढी हो । आरएमडीसी लघुवित्तले २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.२० प्रतिशतले बढी हो । फर्सट माइक्रो फाइनान्सको नाफा ३८.११ प्रतिशतले बढेर १० करोड ४४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

१३ कम्पनी नोक्सानमा
चैत मसान्तसम्ममा १३ वटा कम्पनी नोक्सानमा रहेको वित्तीय अवस्थाले देखाएको छ । नोक्सानमा रहेका कम्पनीमा मानुषी लघुवित्त, वन नेपाल, बीपीडब्लु, सामुदायिक, अभियान, उन्नति सहकार्य, युनिक नेपाल, लक्ष्मी, गुँरास लघुवित्त, जाल्पा सामुदायिक, मनकामना स्मार्ट, धौलागिरी लघुवित्त र आरम्भ लघुवित्त रहेका छन् । 

४० कम्पनीको नाफा घट्यो
५७ वटा लघुवित्त वित्तीय संस्थामध्ये चैत मसान्तसम्म ४० वटा संस्थाको नाफा घटेको छ । सबैभन्दा बढी नाफा घट्ने कम्पनीमा विजय लघुवित्त विकास बैंक रहेको छ । बैंकको नाफा ९८.०९ प्रतिशतले घटेर १७ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै, मेरो माइक्रोफाइनान्सको नाफा ९६.४५ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको ९४.८८, निर्धन उन्नतको ९४.५२, जनउत्थान सामुदायिकको ९३.९२, फरवार्ड माइक्रोफाइनान्सको ९३.५५, सीवाईसी नेपालको ९२.२९, नाडेप लघुवित्तको ८९.९६, एनएमबी लघुवित्तको ८९.८०, स्वाभिमानको ८८.९१, आदर्श लघुवित्तको ८८.५६ र इन्फिनिटी लघुवित्तको नाफा ८८.३२ प्रतिशतले घटेको छ ।

सिभिल लघुवित्तको नाफा ८७.५९, किसान लघुवित्तको ८७.४३, साधना लघुवित्तको ८५.७५, समता घरेलुको ८५.४९, नेरुडे लघुवित्तको ८५.२२, माहुलीको ८३.५३, ग्रामीण विकास लघुवित्तको ७९.४०, सबैको लघुवित्तको ७८.१५, नयाँ सारथीको ७४.२७, आशा लघुवित्तको ७३.२४, कालिका लघुवित्तको ६८.१५, ग्लोबल आइएमईको ६७.३९, मिर्मिरेको ६३.८३, स्वरोजगारको ६०.४१, एनआईसी एशियाको ५८.९३, जीवन विकासको ४६.२१, सपोर्ट माइक्रोफाइनान्सको ४२.८८, नेसनलको ३९.६५, राष्ट्र उत्थानको ३२.९६, गणपतिको २८.१५, आत्मनिर्भरको २७.६४ र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफा १०.८५ प्रतिशतले घटेको छ ।

Skip This
Logo