#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व660645538855630245953193304
नेपाल2634102334290

३० वर्षमुनिका सवारीचालकले गराउँछन् बढी दुर्घटना (भिडियाेसहित)

  • गोपाल ढकाल, मनोविद्, मार्क नेपाल –

नेपालमा प्रत्येक दिनजसो सवारी दुर्घटना भइरहेका छन् । दुर्घटनाका कारण धेरैले ज्यान गुमाउने तथा अंगभंग भएर जीवनभर दुःख पाउने समस्या समेत हुने गरेका छन् । दुर्घटना भएपछि २–४ दिन कोकोहोलो हाल्ने अनि बिर्सने गरिन्छ । त्यसपछाडिको कारण पहिल्याएर निराकरण गर्नेतर्फ भने न त प्रभावित न त सम्बन्धित सरोकारवाला निकाय नै अग्रसर हुने गरेका छन् ।

धेरैले सवारी साधन भनेको टेक्निकल पाटो हो भनेर मात्रै बुझेका छन् जब कि त्यो पूर्ण सत्य होइन । अनि नेपालको भौगोलिक अवस्था राम्रो छैन, बाटोघाटोको स्थिति राम्रो छैन भन्ने गरिन्छ, तर अनुसन्धानले के देखाएको छ भने चालकको लापरवाहीका कारण धेरै सवारी दुर्घटना हुन्छ ।

अब कुरा उठ्छ, चालकले लापरवाही किन गर्छ ? चालकले लापरवाही गर्नुका पछाडि पनि धेरै कारण हुन्छन्, जसमध्ये व्यक्तिको अथवा चालकको मानसिक स्वास्थ्यले प्रभाव पारिरहेको हुन्छ । जब कि यो धेरैलाई थाहा नहुन सक्छ ।

एक अनुसन्धानले नेपालमा सरदर प्रत्येक दिन ६ देखि ८ जनाले सडक दुर्घटनामा आफ्नो ज्यान गुमाइरहेका हुन्छन्, धेरै व्यक्तिहरू अङ्गभङ्ग हुन्छन् भन्ने देखाएकाे छ । दुर्घटनाले आर्थिक क्षति, मानवीय क्षति तथा घरपरिवारमा पनि मानसिक आघात पार्छ । फेरि हाम्रो नेपालमा मानसिक समस्यामा पर्नु अथवा मनोवैज्ञानिक समस्या देखापर्नुको एउटा कारण पनि सवारी दुर्घटना हो । सवारी दुर्घटनामा परेर कसैको मृत्यु भएमा त्यो घरपरिवारमा ठूलो असर पर्छ त्यसलाई हामी मानसिक आघात अथवा ट्रमा भन्छौं । त्यसबाट गुज्रिएको मान्छे अङ्गभङ्ग भएर बाँच्यो भने पनि उसलाई मानसिक आघात पार्ने सम्भावना हुन्छ । चिकित्सकहरूका अनुसार दुर्घटनामा परेर घाइते, अंगभंग भएकाहरूमा मानसिक समस्या देखिने गर्छ । उनीहरूको दिमागमा गम्भीर आघात परेको हुन्छ । दुर्घटनामा बजारिँदा शरीरका विभिन्न अंगमा आघात परेको हुन्छ, जसलाई चिकित्सकीय भाषामा पोलिट्रमा भनिन्छ ।

एउटा मनोसामाजिक समस्यामा पर्नुको कारण सवारी दुर्घटना हो । डब्लूएचओले के भन्छ भने नेपालमा मृत्युको चौथो कारण सवारी दुर्घटना हो । नेपालमा जति पनि मृत्यु हुन्छ, त्यसको ७ प्रतिशत सडक दुर्घटनाको कारण हुन्छ । त्यसै गरी एक लाखमा १६ जनाको मृत्यु सडक दुर्घटनाको कारणले हुन्छ ।

नेपाल प्रहरीको एक अध्ययनले पनि के देखाउँछ भने जति पनि सडक दुर्घटनाहरू हुन्छन् । त्यसका पछाडि ७१ प्रतिशत चालकको लापरवाही भनेको छ भने १३ प्रतिशत तीव्र गतिमा सवारी साधन चलाउनु भनेको छ ३ प्रतिशतचाहिँ मदिरापान सेवन गरेर सवारी चलाउनु भनेको छ भने २,३ प्रतिशत मात्रै टेक्निकल पक्ष वा मेसिनरी गडबडीका कारणले हुन्छ भनेको छ । नेपाल प्रहरीको मात्र होइन विश्वभरि नै भएका अध्ययनले पनि सवारी दुर्घटनाका पछाडि प्रमुख कारणका रूपमा चालककै लापरवाही देखाउँछन् । चालकले हतार गर्ने, छिटो आवेगमा आउने, आराम नगर्ने, छेउछाउका मान्छेसँग गफ गर्दै सवारी हाँक्ने, गाडीमा ठूलो आवाजमा गीत बजाउने, गाडीको अवस्था जाँच नगरी चलाउनेजस्ता कारणले दुर्घटना निम्तिने गर्छ । यस्तो अवस्था आउँछ कसरी त ?

चालकले किन गर्छ त लापरवाही ?

लापरवाही त्यसै हुँदैन, गरिँदैन । लापरवाही हुनुमा मानसिक स्वास्थ्यका कुराहरू आउँछन् । जस्तै कुनै चालकले एकदमै तीव्र्र गतिमा गाडी चलाउँछ भने त्यसपछाडिको एउटा कारण भनेको ए.डी.एच.डी अर्थात् एटेन्सन डिपिसिड हाईपर डिसअर्डर हो । यो एक किसिमको मानसिक समस्या नै हो । यस्तो समस्या हुँदा मानिस एकदमै चञ्चल, चकचके हुन्छ ध्यान केन्द्रित गर्न सक्दैन, ट्राफिक नियमहरू उनले उल्लङ्घन गर्छ । रातो बत्ती बलेका बेला पनि ऊ धैर्य गर्न नसक्ने स्वभाव हुन्छ । तीव्र गतिमा गाडी चलाउँछ ।

त्यस्तै बोडरलाईन पर्सनालिटी डिसअर्डर भएको व्यक्ति छ भने ऊ चाँडो आवेगमा आउँछ निर्णय लिन सक्दैन अस्थिर हुन्छ त्यस्ता रोग भएको चालक छ भने पनि त्यतिखेर सवारी दुर्घटना हुन सक्छ ।

न्यूरोटिक पर्सनालिटी भएको व्यक्ति एकदमै अस्थिर हुने, चाँडो रिसाउने चाँडो आवेगमा आउने हुन्छ । त्यस्तो व्यक्ति चालक छ भने पनि सवारी दुर्घटना हुने सम्भावना बढ्छ ।

अर्को जाँड रक्सी सेवन पनि आफैमा मानसिक स्वास्थ्य समस्या हो । हाम्रो नेपालमा एउटा चालकले बिहानदेखि बेलुकासम्मै गाडी चलाउँछ । रातीको समयमा धेरैजसोले मदिरा सेवन गर्छन् ।

अर्को कुरा चालकले निद्रा पुग्ने गरी सुत्न पाएको हुँदैन । बिहान ४ बजेबाट गाडी चलाएर निस्केको मान्छे बेलुकाको ८,९ बजेसम्म गाडी चलाउँछ । कतिले त रातभर पनि चलाउँछन् । त्यस्ता व्यक्तिसँग मनोरञ्जनको अभाव हुन्छ, मनोरञ्जनकै लागि रक्सी सेवन गर्छन् ।
नेपालका सवारी चालकहरूको लाईफ स्टाइल पनि सन्तुलित छैन । यी विविध कारणले गर्दा उनीहरूको मानसिक स्वास्थ्यमा असर परिरहको हुन्छ ।

एउटा रिर्सचबाट के पनि पत्ता लागेको छ भने धेरैजसो सवारी चालकहरू तनावमा छन् । तनावमा भएपछि रिस उठ्छ, झर्को लाग्छ ।

किन तनावमा हुन्छन् त चालकहरू ?

बिहानदेखि गाडी चलाउनुपर्छ, आफ्नो गुजारा पनि राम्रोसँग चलेको छैन, जाम त्यत्तिकै छ, धूवाँधूलो पनि त्यत्तिकै छ । ट्राफिकहरूले पनि चालकलाई त्यति राम्रो व्यवहार गरेको देखिँदैन त्यसैगरी समाजमा सवारी चालकलाई हेर्ने दृष्टिकोण पनि त्यति राम्रो छैन । अनपढ, ड्राईभर भन्ने बित्तिकै हाम्रो सोचाइ फरक हुन्छ । ड्राईभरप्रति सामाजिक व्यवहार फरक हुन्छ । यस्ता कुराहरूले चालकलाई तनाव दिइरहेको हुन्छ ।

सहरी इलाकामा ट्राफिक जाम, सडकका खाल्डाखुल्डी, ट्राफिक प्रहरी र आममानिसले गर्ने रुखो व्यवहार, धुवाँधुलो, ध्वनि प्रदूषण र कामको चापले चालकमा तनाव सिर्जना गराउँछ भने ग्रामीण भेगमा पनि ट्राफिक जाम, धुवाँ र ध्वनि प्रदूषणजस्ता कुराबाहेक अन्य समस्या करिबकरिब उस्तै हुन्छन् ।

यसबाहेक यात्रुको व्यवहार, होहल्ला र ट्राफिक जामको कठिनाइ, गाडीसाहुको दबाब र कमजोर आर्थिक अवस्था, यात्रुले जथाभावी रोक्न दिने गरेको दबाब, यात्रुसँगको भाडा विवादजस्ता तनाव पनि चालकले बेहोर्नुपर्छ ।

दुर्घटनामा चालक किन मुछिन्छन् त ?

मानिस सामान्यतः ८ घण्टा सुत्नुपर्छ, ८ घण्टा काम गर्नुपर्छ, ८ घण्टा रमाइलो गर्नुपर्छ तर चालकहरू १८, २० घण्टासम्म पनि गाडी चलाउँछन् । यसरी लामो समयसम्म गाडी चलाउँदा मोनोटोनस पनि हुन्छ । यस्ता कारणहरूले पनि चालक तनावमा जान्छ र सडक दुर्घटना हुन्छ । अर्को जटिल समस्या भनेको नेपालमा ड्राईभिङ लाईसेन्स दिँदा चालककाे मानसिक स्वास्थ्य परीक्षण गरिँदैन ।

एन्टी सोसियल पर्सनालिटी अथवा साईको पार्ट भएको व्यक्तिले पनि नियम उल्लङ्घन गर्छ, उसलाई मान्छे मार्नु कुनै पनि ठूलो हुँदैन । उसमा कुनै मानवीयता भन्ने कुरा नै हुँदैन । हामीले सुनिरहेको हुन्छौं कि ड्राईभरले एउटा सानो ठक्कर लाग्ने बित्तिकै ब्याक गरेर मान्छे मार्छ । त्यो हुनु भनेको उक्त ड्राईभर एन्टी सोसियल पर्सनालिटी भएकाले हो । एन्टी सोसियल पर्सनालिटी भएको व्यक्तिमा दया, माया, करुणा हुँदैन जसकारण मान्छे मार्नु उसका लागि कुनै ठूलो कुरा हुँदैन ।

अर्को छ, इन्टरमिटेन एक्सप्लोसिभ डिसअर्डर । यो पनि एक किसिमको मानसिक रोग हो । यस्तो मानसिक रोग भएका मान्छेहरू सानो घटना केही भयो भने पनि दशौं गुणा आक्रोशित हुन्छन् । त्यस्ता व्यक्तिले पनि दुर्घटना पार्न सक्छन् ।

सार्वजनिक सवारीका अधिकांश चालकमा ‘न्युरोटिक पर्सनालिटी’ देखिन्छ । ‘त्यस्तो पर्सनालिटी भएका व्यक्तिमा चिन्ता गर्ने, जोखिम लिने, रुखो व्यवहार गर्ने र अपशब्द बोल्ने समस्या हुन्छ ।

एक अध्ययनअनुसार सवारीचालकहरूमा डिप्रेसन, एन्जाइटी डिसअर्डर, छारेरोग, एडिएचडी, बायोपोलार, डिमेन्सिया, साइकोसिस र तनावजस्ता मानसिक समस्या पाइएको छ । यस्तो समस्या भएका व्यक्ति धैर्य गर्न नसक्ने, बिर्सने, बढी आत्मविश्वास, छिटै आवेगमा आउने र जोखिम लिन नडराउने स्वभावका हुन्छन् ।

यसरी हेर्दा धेरै यस्ता मानसिक रोगहरू छन् जसको कारणले गर्दा सडक दुर्घटनाहरू भइरहेका हुन्छन्, त्यस्ता व्यक्ति चालक छन् भने बारम्बार दुर्घटनामा परिरहेका हुन्छन् ।

दक्षिण एसिया र अफ्रिकी देशहरूमा सवारी दुर्घटनाको मुख्य कारक सवारीचालक नै देखिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार १५ वर्षदेखि २९ वर्ष उमेरका सवारीचालकले बढी दुर्घटना गराएको पाइन्छ । यसको कारण यो उमेर समूहका मानिसहरू अलिक आवेगमा आउँछन्, निर्णय लिने क्षमता एकदमै कमजोर हुने भएकाले दुर्घटनामा पर्छन् । साथै उनीहरूमा अति आत्मविश्वास देखिने गरेको छ ।

के गर्ने ?

यसका बारेमा सरोकारवालाहरू एकदमै सचेत हुन र लाइसेन्स दिँदा तथा नवीकरण गर्दा मानसिक स्वास्थ्य परीक्षण अनिवार्य गर्न जरुरी छ ।

सवारी साधनको यान्त्रिक कारणले मात्र सडक दुर्घटना भइरहेको हुँदैन त्योभन्दा महत्वपूर्ण कुरा भनेको मानसिक स्वास्थ्य हो जुन कुरा हामीले बुझ्न एकदमै जरुरी छ । सडकको अवस्था मात्रै दुर्घटनाको कारण होइन ।

सवारीचालकलाई गरिने सामाजिक व्यवहार, उनीहरूको शिक्षाको स्तर, पारिवारिक र सामाजिक वातावरण, लाइसेन्स दिँदा शिक्षा र स्वास्थ्यको निश्चित मापदण्ड नहुनुजस्ता कारण यसमा जोडिन्छन् । यस्तै, चालकलाई अनिवार्य बिदा र तनाव व्यवस्थापन पनि आवश्यक छ । साथै अनिद्रा, मनोरञ्जनको कमी र तनाव व्यवस्थापन नहुँदा चालकमा मानसिक समस्या निम्तिन्छ र यही नै दुर्घटनाको कारण बन्दछ ।

हेर्नुहाेस् भिडियाे :-

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार