रेशम चौधरीलाई आममाफी दिने सिफारिस गर्दा कानुनभन्दा बाहिर गएका छैनौंः प्रवक्ता शर्मा

रेशम चौधरीलाई आममाफी दिने सिफारिस गर्दा कानुनभन्दा बाहिर गएका छैनौंः प्रवक्ता शर्मा


आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना, प्रविधिमन्त्री रेखा शर्माका अनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भोलि (सोमबार) चौधरीलाई आममाफी हुनेछ । 

सञ्चारकर्मीसँग उनले भनिन्- ‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही बिषयहरु सम्वोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजायँ मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।’

उनका अनुसार आजको मन्त्रिपरिषद बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलंघन गरिएको छैन । ‘हामीले बिभिन्न कानुन ब्यावसायसँग गरेको सल्लाह अनुसार कानुनत: ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौं ।’ उनले भनिन् । 

यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो। 

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ७ जना प्रहरीसहित १ जना दूधे बालकको ज्यान गएको थियो । टीकापुर घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेको थियो । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीको पार्टी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । 

Logo