११ सिटे इलेक्ट्रिक भ्यानको भन्सार शुल्क पुग्यो १० प्रतिशत, व्यवसायी मारमा

११ सिटे इलेक्ट्रिक भ्यानको भन्सार शुल्क पुग्यो १० प्रतिशत, व्यवसायी मारमा


सरकारले ११ वा सो भन्दा बढी सिट क्षमताका इलेक्ट्रिक भ्यानको भन्सार शुल्क ९ प्रतिशतले बढाएको छ । यसअघि १ प्रतिशत रहेको भन्सार शुल्क सरकारले बजेटमार्फत बढाएर १० प्रतिशत पुर्याएको हो । 

नयाँ व्यवस्थाअनुसार ड्राइभर समेत १० वा सो भन्दा बढी यात्रुहरु बोक्ने मोटर गाडी र ११ देखि १४ सम्म सिट भएका धक्का दिने मोटर मात्र भएका सवारी साधनमा १० प्रतिशत भन्सार लाग्ने छ । तर, भन्सार शुल्क बढेकोमा इलेक्ट्रिक भ्यानका व्यवसायीहरुले आपत्ति जनाएका छन् । 

विद्युतीय माईक्रो बस बिगत १ बर्ष देखी नेपालमा बिक्री बितरण हुँदै आएको छ । नेपालमा लगभग ३०० वटा इलेक्ट्रिक माइक्रोहरु दर्ता भएका छन् । नेपालभर ५–७ हजार वटा डिजल माईक्रोबसहरु सार्वजनिक यातायातको रुपमा प्रयोजनमा रहेका छन् । 

एउटा डिजल माईक्रोबस दैनिक १५० देखि २०० किमी गुड्छ, जसको हिसाब हेर्दा  ७०००-८००० रुपैयाँको डिजल खपत हुने देखिन्छ । तर, ३०० वटा विद्युतीय माईक्रो बसको प्रयोग भइरहँदा २१ लाख रुपैयाँको डिजल बचत हुने व्यवसायीले बताएका छन् । 

यो सबै डिजेल माईक्रोलाई विद्युतीय माईक्रो बसमा परिवर्तन गर्ने हो भने लगभग ५ करोड रुपैयाँको डिजल दैनिक बचत गर्न सकिने बताइएको छ । धेरै बचत, कम खर्च, देश विकासमा राम्रो योगदानले विद्युतीय गाडी नै अहिलेको डिजल भन्दा राम्रो विकल्प देखिएको र यसले स्वरोजगार पनि बढाउने हुनाले सरकारले राहत हुनेगरी निर्णय लिनुपर्ने व्यवसायीको माग छ । 

नेपाली बजारमा हाल दीगो, चांगन, फोटोन आदि ब्रान्डका विद्युतीय माइक्रो भ्यान उपलब्ध छन् । 

Logo