विकास बोर्डमा कसको पल्ला भारी ? यी ३ मध्ये को अघि ?

केन्द्रबिन्दु डेस्क । गत मंसिर २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि उक्त पद अब कसको पोल्टामा पर्ने हो भन्ने अड्कलवाजी सुरु भएको छ । दिनेश डिसी, केपी पाठक, देशभक्त खनाल लगायतको नाम अग्रपंक्तिमा राखेर छलफल गर्नेहरूको संख्या धेरै भए पनि ‘लबिङ’मा सक्रिय भने अरू नै कलाकर्मीहरू रहेका छन् ।

केशव भट्टराई विकास बोर्डको अध्यक्षमा नियुक्त हुने बेला नै दिनेश डिसी अध्यक्ष हुने चर्चा चलेको थियो । तर, उनी यसपटक पनि चर्चामा नै सीमित हुँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनजान भएका, नेकपासँग निकट रहेका र प्रधानमन्त्रीको किचन क्याबिनेटका केही सदस्यसँग हिमचिम समेत रहेका दिनेश निर्देशक समाजका अध्यक्ष भइसकेका चलचित्रकर्मी हुन् । तर, दिनेश आफैं नियुक्तिका लागि आकांक्षी नभएको स्रोतको दावी छ । उनी सरकारी प्रभाव प्रयोग गरेर गृह जिल्ला इलाममा केही ठूला विकासे ‘प्रोजेक्ट’ लगेर स्थापित हुने बाटोमा रहेको उनी निकट एक चलचित्रकर्मी बताउँछन् । कान्तिपुर एफएमको स्टेशन म्यानेजर समेत रहेका उनी राजनीतिक नियुक्तिमा जानै परे पनि शक्तिशाली ठाऊँमा जाने सोचमा रहेका छन् ।

केपी पाठक पुराना कम्युनिष्ट कार्यकर्ता मात्र होइनन् निर्देशक समाजका पूर्व अध्यक्ष पनि हुन् । नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को एक्लै आयोजना गरेर पनि उनी चर्चित र स्थापित छन् । तर, उनी विकास बोर्डको अध्यक्ष हुने सरकारी प्रक्रियामा सामेल नहुने वताउँछन् । अर्का वरिष्ठ चलचित्रकर्मी देशभक्त खनालको ‘लबिङ’ भने त्यति प्रभावकारी नभएको चलचित्रकर्मीहरूको अनुमान छ ।

प्रधानमन्त्रीकहाँ सन्देश पठाउने, विभागीय मन्त्री (सञ्चारमन्त्री)लाई भेट्ने, पार्टीको भ्रातृ संगठनका प्रमुखहरूलाई कुरा राख्ने र, अन्य नेता तथा कार्यकर्ता मार्फत सम्बन्धित ठाउँमा आफ्ना कुरा पुर्‍याउन केही चलचित्रकर्मीले सक्रियता बढाएका छन् । यसरी सक्रियता जनाउनेमा चलचित्र विकास बोर्डका सदस्यद्वय दयाराम दाहाल र नरेन्द्र महर्जन अगाडि रहेका छन् । त्यसमा पनि खास गरेर दयाराम दाहालको बारेमा विभागीय मन्त्री गोकुल बाँस्कोटा बढी नै ‘पोजेटिभ’ रहेको स्रोतको दाबी छ । त्यसो त केशव भट्टराईलाई नियुक्त गर्ने बेलामा नै दयारामलाई अध्यक्ष बनाउन मन्त्री बाँस्कोटा राजी थिए । तर पार्टीको सम्बन्धित भ्रातृ संगठनले केशवको नाममा निर्णय लिएको हुनाले मन्त्रीले ‘क्रस’ गर्न नसकेको एक चलचित्रकर्मीको बुझाइ रहेको छ ।

त्यसैगरी चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको सक्रियता पनि रहर लाग्दो छ । उनी खासगरी अर्का चलचित्रकर्मी दिनेश डिसीलाई अघि लगाएर ‘लबिङ’ गरिरहेको यस क्षेत्रले प्रत्यक्ष रूपमा देख्दै आएको छ । चलचित्र क्षेत्रको जस्तो सुकै राजनीतिमा पनि अति सक्रियता देखाउने नवल खड्कालाई पनि आकाशले आधार मानेका छन् । जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राई नवलका जेठान हुन् । यही महासंघको सिफारिस विना बोर्डमा नियुक्ति नहुने विश्वासका साथ आकाशले नवललाई छोडेका छैनन् । दिनेश र नवलको सक्रियताले आकाशलाई कहाँ पु¥याउने हो ? यसको जवाफ भने चलचित्र क्षेत्रका कसैसँग छैन ।

नवल खड्का आकाश अधिकारीलाई किन विकास बोर्डको अध्यक्ष बनाउन चाान्छन् ? एक चलचित्रकर्मीको अनुसार अनुसार यसको पछाडि दुईवटा कारण छन् । पहिलो – आकाशको बोर्डमा नियुक्ति भएपछि आफू निर्माता संघको अध्यक्ष हुन् । र, दोस्रो– आकाशसँग ‘पैसा’ धेरै भएको हुनाले यस्ता मानिस परेका बखतमा काम लाग्छन् भनेर । तर, नवलले अर्का चलचित्रकर्मी लय संग्रौला र पत्रकार डब्बु क्षेत्रीलाई पनि बोर्डको अध्यक्ष बनाउन लागि पर्ने वचन दिएका छन् । लय पनि नवलसँग मात्र भर परेका छैनन् । उनी प्रधानमन्त्री केपी ओलीको जिल्लावासी भएकाले त्यताबाट पनि जोडबल गरिरहेको बालुवाटार स्रोत बताउँछ ।

बढी सम्भावना दाहालको

संघ–संस्थाको नेतृत्वमा बसेको अनुभव छैन, दयाराम दाहालको । कम्यूनिष्ट पार्टीमा समेत उनी नव प्रवेशी हुन् । उनी दोस्रो जनआन्दोलनपछि मात्र तत्कालीन माओवादीको भ्रातृ संगठन मार्फत खुलेका हुन् । र, चलचित्र विकास सम्बन्धी स्पष्ट ‘भिजन’ समेत उनले देखाएका छैनन् ।

पुराना र सक्रिय निर्देशक दाहाल सञ्चारमन्त्री गोकुल बाँस्कोटाका पुराना साथी हुन् । र, उनीहरू काभ्रे जिल्लावासी पनि हुन् । लामो समयदेखि चलचित्र निर्देशनमा रहेका उनी हालको चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । उनलाई यसअघि नै हालका सञ्चारमन्त्री बाँस्कोटाले बोर्डको अध्यक्ष बनाउने मनसाय बनाएको चलचित्रकर्मीहरू बताउँछन् ।

अरूकै बैशाखीमा अधिकारी

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् आकाश अधिकारी । निर्माता संघको बहालवाला अध्यक्ष अधिकारी फिल्म क्षेत्रमा ‘पैसावाला’ मानिन्छन् । तटस्थ, व्यावसायिक र मिलनसार चलचित्रकर्मीको परिचय बनाएका उनी पार्टीगत राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्दछन् । हालसम्म स्पष्ट ‘भिजन’ सार्वजनिक नगरेको र राजनीतिक पहुँच शून्य बराबर भएका उनी खासगरी अर्का चलचित्रकर्मीद्वय दिनेश डिसी र नवल खड्काको पहल र सहायतामा बोर्डको अध्यक्ष हुने सपना देखिरहेका छन् ।

प्रधानमन्त्रीको गृहजिल्लावासी संग्रौला

लय संग्रौला पुराना कलाकर्मी हुन् । नेपाल टेलिभिजनको डिजिएमवाट सेवा निवृत्त भएका लय खासगरी सानो पर्दावाट स्थापित भएका हुन् ।

लय संग्रौलासँग संघ–संस्थाको नेतृत्व गरेको अनुभव छैन । चलचित्र विकास सम्बन्धी स्पष्ट ‘भिजन’ सार्वजनिक भएको छैन । र, उनी चलचित्रको ‘मूल धार’मा स्थापित छैनन् । तत्कालीन एमाले निकट उनी नवकम्यूनिष्ट हुन् ।
तर, उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लावासी हुन् । उनले प्रधानमन्त्रीलाई आफ्नो इच्छा पु¥याइसकेको बालुवाटार स्रोतको दाबी छ ।

विकास बोर्डको अध्यक्ष हुनका लागि मन्त्रालयले केही मापदण्ड तोकेको छ । तर मापदण्ड हात्तीको देखाउने दाँत मात्र रहेको चलचित्रकर्मीको बुझाइ रहेको छ । ‘मन्त्रीलाई खुसी नबनाई केही हुनेवाला छैन’ – एक चलचित्रकर्मीको विश्लेषण रहेको छ ।

 

सम्बन्धित समाचारहरु