इक्यानको १४ औं साधारण सभा सुरू

शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं वार्षिक साधारण सभा शनिबारबाट सुरू भएको छ ।

काठमाडौको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सुरू भएको साधारण सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई साथ दिन व्यवसायीहरूलाई आग्रह गरे ।

साधारण सभालाई सम्बोधन गर्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले उद्धेश्य प्राप्तिका लागि संगठनलाई एकढिक्का बनाउनुपर्ने र त्यसकालागि निर्विरोधरूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे  ।

वर्तमान कार्यसमितिको कार्यावधि आगामी बैशाख ८ गतेसम्म बाँकी रहे तापनि ५ महिना अगावै नयाँ नेतृत्व चयन गर्न लागिएको हो । इक्यानबाट छुट्टिएर नयाँ संघ स्थापना गरेका ४० जना व्यवसायीहरू पुन: इक्यानमै फर्किएसँगै नयाँ नेतृत्व चयन हुन लागेको हो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा प्रकाश पाण्डे निर्विरोध हुने सम्भावना बलियो छ ।

इक्यानको १४ औं साधारण सभा सुरू