#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20674233749047635795313567233
नेपाल2443291761316728

कलेज लाइफ मस्तीको एलाइभ

  • वैकुण्ठ ढकाल –

भनिन्छ कुनै पनि शहर कस्तो छ भनेर जान्नका लागि सार्वजनिक यातायात हेरे पुग्छ । सार्वजनिक यातायातको वस्तुस्थितिले शहरको असली परिचय दिन्छ । भ्रमण वर्ष २०२० घोषणा भएको दोस्रो दिन काठमाडौंका ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल आफैं सार्वजनिक यातायातको अनुगमनमा निस्किएपछि पक्कै पनि धेरै कुरा थाहा पाए होलान् । सार्वजनिक यातायातका हालत, सहचालकका व्यवहार आदित्यादि । अब फिल्डमै उत्रिएपछि काठमाडौंको यातायात व्यवस्थापन सुध्रिएला भन्ने आश गरौं ।

ढकाल यातायातको अनुगमन गर्न निस्किएकै बेलुका पंक्तिकार अर्का एक सहकर्मीसहित सार्वजनिक यातायात नपाएर बिलखबन्दमा परिरहेका थियो । बेलुका आठ बजेको थियो । सार्वजनिक यातायातका साधन फाट्टफुट्ट मात्रै थिए ।

नजिकै आएर एउटा ट्याक्सी रोकियो, चालकले सोधे– ‘कलंकी हो ।’ हो, हामीले भन्यौं । नजिकै दुई युवती थिए । हामी परिचित थिएनौं, बोलेका पनि थिएनौं ।

ट्याक्सी चालकले प्रस्ताव राखे, चारैजना कलंकी जाने भए प्रतिव्यक्ति एक सय रुपैयाँ दिनुहोस् ।

हामीले अपरिचित युवतीहरूलाई सोध्यौं– तपाईंहरू पनि कलंकी जाने हो । जवाफ ‘हो’ भन्ने आयो । चालकले भनेकै कुरा, सुनायौं । उनीहरूले इन्कार गरे । आत्मविश्वासी भएर भने– हामी सधैं हिँड्ने हो, गाडी आउँछ ।

जाऊँ, सरहरू एक एक सय दिनुहोस् ।

मध्य पुसको चिसोमा सडकमा उभिएर कठ्यांग्रिनुभन्दा ट्याक्सी चढ्नु नै ठीक लाग्यो ।

ट्याक्सी बिजुलीबजारबाट अघि बढ्यो, ट्याक्सी चालक फतफताए, भलाइको त जमानै छैन । ट्यापे–मुन्द्रेले मागेका भए, नम्बर दिन्थे । भोलिपल्टदेखि घुम्न हिँड्थे । सोझो र इमान्दार भएर कुरा गर्दा नहुने, क्या जमाना आयो । ट्याक्सी चालक ती युवतीहरूप्रति आक्रोशित देखिए ।

टिप नलागेर, हैरान भएर कलंकी जान लाग्या । एकथरी ट्याक्सी चालक भन्छन् सस्तोमा त म बोक्दै बोक्दिन, तर म रित्तै जानुभन्दा सस्तोमै बोक्छु । अहिले सरहरू चढ्नुभयो, कम्तीमा तेलको पैसा त भयो नि । कलंकी पुग्दा बाहिरबाट छुटेका बसहरू आइपुग्छन्, अनि टिप लाग्छ । अहिले बन्द छ नि बाहिर ३ बजेसम्म (नारायणगढ– मुग्लिन सडक मर्मतका लागि भनेर अहिले दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द हुन्छ) ।

चालकले अर्को विकल्प पनि सुनाए, एभरेष्ट होटल अगाडि बसेको भए, जत्ति पनि ‘जँड्याहा’ भेटिन्थ्यो, फिटान भएर निस्कन्थे, ट्याक्सी चढ्थे । तर स,र म बरु भोकै बस्छु ‘जँड्याहा’ चाहिँ बोक्दिन ।

त्रिपुरेश्वर बस स्टपमा गाडी कुरिरहेकाहरू भेटिए, चालकले कलंकी ५० रुपैयाँमा लैजाने प्रस्ताव गरे, ती यात्रु तयार भएनन् । अहिले गाडी नपाएर अर्को ट्याक्सीलाई चार सय तिर्नुपर्छ अनि थाहा हुन्छ नि ?

यसअघि पनि त्रिपुरेश्वरमा बस पर्खेर बस्दा नजिकै आएर ट्याक्सी चालकहरू सोध्थे, कलंकी जाने हो भनेर, भाडा सोध्दा मिलाएर दिनु न भन्थे । साँझ र वा दिउँसोको समय ट्याक्सी चालकले सोध्थे भने बसवालाहरूले ट्याक्सी चालकको ढाड भाँच्थे होलान् । जसरी ट्याक्सी चालकले ‘पठाओ राइडर’लाई स्वयम्भूमा घेरेर लछारपछार गर्दै पुलिसलाई बुझाएका थिए ।

ती ट्याक्सी चालकको कुरा यत्ति नै । तर विजुलीबजारबाट ती दुई युवती ट्याक्सी चढ्न किन मानेनन् ? काठमाडौंमा राति अबेरसम्म पनि सार्वजनिक यातायात पाइन्छ भन्ने विश्वास होला कि हामीहरूप्रति अविश्वास ? कि आर्थिक मितव्ययिता ? ‘पुरुष’हरू बीचमा असुरक्षित महसुस गरेका हुन् कि ?

सार्वजनिक यातायात चढ्दा अनेक यात्रीहरू भेटिन्छन् । अनेकौं कुराहरू सुनिन्छन् । लाम्पाटीबाट रत्नपार्कको निलो माइक्रो चढें, एकै उमेरका लाग्ने पाँचजना युवती रहेछन्, उनीहरूको अर्को लहरको सिटमा बसेँ । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक घोषणाको कार्यक्रम थियो, दशरथ रंगशालामा । यसै पनि कालिमाटी–त्रिपुरेश्वर सडक जाम नै हुन्थ्यो । आज त झन लाखौंको सहभागितामा भ्रमण वर्षको उद्घाटन गर्ने दिन, त्यसकै असर होला भन्ने लाग्यो । ती पाँचै जना कलेज किशोरीहरू माईक्रो नै थर्किने गरी ठट्टिरहेका थिए । एकले अर्कोलाई सकेजति उल्याउँदै । उनीहरू बाहेक बसमा कोही छैन, जसरी ।

एउटीले कालो रंगको ज्याकेटको पकेटबाट एउटा हजमोला झिकिन्, खोलिन्, मुखमा हालिन् मुख मिठ्याइन् । जिब्रो पड्काइन । सँगै बसेकी अर्कीले हात बढाइन्, तीनवटा खाइसकिस् तैंले दिन्न, मकै भटमास हो र, मुट्ठीभरि खान– जवाफ आयो । करबलपछि एउटा दिँदै भनिन् – ‘आईसक्रिम चुसेजस्तो बिस्तारै चुसेर पुर्‍या है अबचाहिँ’ । अस्ति राति हेर्‍या थिस् नि ! सन्नी लियोनीले कत्ति लामो समयसम्म पुर्‍याएकी थिइन्, आईसक्रिम । ती किशोरीले सन्नीको कुन चलचित्रको कुरा गरिन् ?

नीलो माइक्रोमा सहचालक थिएनन् । र त तिनै युवतीहरूको आवाज र कहिलेकाहीँ सडकमा गुडिरहेका बसहरूको हर्न बाहेक अरूको आवाज माईक्रोमा सुनिएको थिएन ।

हजमोलासँगै आईसक्रिमको डोज भेटेकी बाहेक अरूको ओठ पालैपालो चलिरहेको थियो । हजमोला धेरै किन्ने तर थोरै खानेले नेतृत्व गरिरहेकी थिइन् ।

न मोटी न दुब्ली, न गोरी न काली, न अग्ली न होची । उस्तै जीउडाल, मिलेका दन्त लहर । नाक र आँखाले मात्रै उनीहरू फरक समुदायका हुन् भन्ने देखाइरहेको थियो तर उस्तै उस्तै पोशाक । जिन्सको पाइन्ट, लामो र बाक्लो ज्याकेट । रङचाहिँ फरक–फरक । सबैको नाकको डाँडीमा चस्मा उभिएको थियो । तीमध्ये दुईवटीलाई चाहिँ डण्डीफोरले दुःख दिएको रहेछ । एउटी सुनाउँदै थिइन्, दुई वर्ष लगातार औषधि खाएपछि निको भयो, अर्की भन्दै थिइन् मैले भर्खर शुरु गरेको अझै २३ महिना औषधि खानु पर्ने भयो मैले उसो भए ।
(कुनामा बस्नेको मोबाइल बज्यो, केही बेरको कुराकानीपछि)

ओई, तेरी अन्टीले त मलाई ओझाजी पो लाईदिरा भन्या ।

ए, ए । अन्टीले पनि हुनेवाला थर था‘पाइसेछ । (सँगै बसेको साथीसँग चस गर्दै अर्कीले थपिन् ।)

ओई, अब तँ कसरी सहन्छेस् हँ, दुई दुई वर्षसम्म ।

अँ, त्यही त भन्या । हेर् न सम्झँदा पनि अत्यास लाग्छ, पहिले पहिले त एक दिन नभेट्दा पनि कत्ति गार्‍हो हुन्थ्यो । अहिले अभ्यास गर्दा, दिनहुँ फोनमा कुराकानी हुँदा एक हप्तासम्म चाहिँ थेग्न सक्ने भएको छु । तर भेटेपछि आफसेआफ आँखा र नाक बगिहाल्छ (आँखा बग्ने त बुझियो, नाक बग्ने भन्नेचाहिँ बुझिएन) । आज एग्जाम भए पनि गए राति त लामै गयो नि, मोबाइलको चार्ज सकिएपछि मात्रै टुङ्गियो ।

चालक बोले –भाडा मिलाउँदै गरौं है, सबैले ।

मैले जस्तै ब्याग बन्द गरेर सब चुपचाप बसौं है, आज कोरियाको पालो । (हजमोला माग्नेको बल्लबल्ल बोली फुट्यो ।)

कोरियाबाट पैसा आउँछ भनेर कार्ड छुट त लिन छाड्नु भएन नि, ब्याग बन्द गरेर कसरी कार्ड निकाल्ने ?

ओइ केटीहरू कान खोलेर सुन्–मसँग पैसा हुँदैन, र पनि म ऊसँग माग्दिन, बरु तीन दिन भोकै बस्छु । आफ्नो स्वाभिमान, आत्मसम्मान सबैभन्दा महत्वपूर्ण कुरा हो मेरा लागि ।

वा, ग्रेट लेडी, किन यत्ति बेर बोलिन भनेको त, महारानीको राम्रो प्रवचन आउनु रहेछ र पो । (चार जोडी हात एक भए)

ऊ कोरिया गएको एक वर्ष भयो, तर मैले आजसम्म एक रुपैयाँ पनि लिएको छैन । बरु बाबामम्मीबाटै लिइरहेकी छु । अहिले भन्ने कुरा त भएन तर बाबामम्मीको पनि सबै ऋण चुक्ता गर्छु । अनि गर्वका साथ भन्छु, म आत्मसम्मान र स्वाभिमानमा चोट पुग्ने कुनै काम गर्नेछैन । यसलाई मेरो घमण्ड नठानेस् मेरा प्यारा साथीहरू । (टाउको झुकाउँदै आफ्नो भनाइ सकिन् ।)

(म सुनिरहेको थिएँ, हेरिरहेको थिएँ, मुखले बोलिरहेकी छन् कि मनले भनेर । बेलामौकामा उनको अनुहार पनि पढिरहेको थिएँ । साँच्चै मनदेखि नै बोलिरहेकी थिइन् । उनी अरू साथीभन्दा बढी गम्भीर पनि देखिन्थिन् । भोलि व्यवहारमा लागू गरे पनि नगरे पनि प्रतिबद्धता मन पर्‍यो ।)

तुलनात्मक रूपमा बढी चञ्चले र बोलक्कड बोलिन्– ओइ, तेरो अस्ट्रेलियाले चाहिँ के गर्छ नि ?

खै ?

खै होइन, तेरो अस्ट्रेलियाले उसकै घरमा लगेर, तँलाई थेचरेर जान्छ । तँ, त्यही घरमा गएर कुँजिनु पर्छ । कहिल्यै फुत्कन नसक्ने गरी, गयो केटी गयो तेरो जुनी घरको कम्पाउण्डभित्रै ।

बीचमै नेता बोलिन्– अब एक पटक फेरि पाँचैजना बसेर, होलनाईट इन्जोय गरौं न, अस्तिको पटक त म कत्तिखेर निदाइछु, पत्तै भएन ।

अबचाहिँ मेरो ल्यापटपमा हेरौं है, स्क्रिनटचमा आनन्द लिनु पर्छ । पाँचै जनाको सहमति भयो, जाडो विदा शुरु भएपछि । (माईक्रो काठमाडौं मलअघि रोकियो, पाँचै युवती ओर्लिए ।) मेरो गन्तव्य वागबजार, उत्रिएँ रत्नपार्कमा ।

लाम्पाटीबाट रत्नपार्क पुग्न झण्डै एक घण्टा लाग्यो, खै किन हो आजकल काठमाडौंको सडकमा गाडी, गुड्ने हैन चिप्लेकिरा जस्तै घस्रन्छन् । यही भएर छोटो दूरीको यात्रामा पनि धेरै कुरा सुनिन्छन् । एक घण्टाका बीच युवतीहरूमा जीवनप्रतिको गाम्भीर्यभन्दा हल्काफुल्का प्रसंग र मनोरञ्जनप्रति बढी जोड देखियो । ११ र १२ का विद्यार्थीहरू प्रेम, रोमान्स, र दुर्व्यसनीमा फसेको तथ्यांकहरू सार्वजनिक भइरहँदा त्योभन्दा माथिल्लो तहका विद्यार्थीहरू पनि त्यही बाटोमा । अभिभावकले अलि बढी निगरानी बढाउनु पर्ने हो कि ? कलेज र होस्टेलमा एकमुष्ठ भुक्तानी अनि मोटो पकेटमनीले मात्रै सन्ततीको भविष्य उज्ज्वल होला र ?

सम्बन्धित समाचारहरु

ताजा समाचार