तराई-मधेसमा अत्यधिक गर्मीले जनजीवन प्रभावित

तराई-मधेसमा अत्यधिक गर्मीले जनजीवन प्रभावित


धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।

घरबाहिर निस्कनै मुस्किल
सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घरबाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग, व्यवसाय सबै प्रभावित भएका छन् ।

बिरामी बढे
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवारोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भएका छन्।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. दासको भनाइ छ । डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिम समेत बढ्दै गएको छ ।”

दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लू लाग्ने जोखिम बढेको डा. दास बताउँछन् । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायत तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए ।

बन्द गरिँदै विद्यालय
समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । गर्मीका कारण बालबालिकालाई विद्यालय पु¥याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउँछन् । “विद्यालयमा पंखा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ,” गुप्ताले भने, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ, तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” 

Logo