मलेसियामाथि नेपालको सानदार जित, सिरिजमा अग्रता

मलेसियामाथि नेपालको सानदार जित, सिरिजमा अग्रता


नेपालले तेस्रो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध सानदार जित हात पारेको छ । बांगीस्थित युएसडी युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । 

नेपालले जितका लागि दिएको १११ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रनमै समेटिएको हो । मलेसियाका लागि माहिरा इज्जती स्माइलले सर्वाधिक ४४ रन जोडिन् । ६ चौका प्रहार गरेकी उनी अविजित रहिन् । साथै ओपनर विनफ्रेडले २० रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन । 

बलिङमा नेपालका लागि कविता कुँवर, सिता रानामगर र इन्दु बर्माले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । 

साथै ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

बलिङमा मलेसियाका लागि निक नूर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेडले एकएक विकेट लिए । 

यो जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता कायम गरेको छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अब नेपाल र मलेसियाबीच चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।

Logo