#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व591014536211429645292583502
नेपाल10425850187

गभर्नरका लागि दौडधुप सुरु, नेपालको पदावधि सकिँदै

काठमाडौं ।

आगामी चैतमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको पदावधि समाप्त हुने भएपछि इच्छुकहरूको दौडधुप सुरु भएको छ । नेपाल सरकारको आर्थिक सल्लाहकारका रूपमा रहने गभर्नर पदमा आफू निकटको पार्नका लागि राजनीतिक दलका नेताले पनि आफ्नै किसिमले तयारी थालेका छन् ।

आफू निकटका व्यक्तिलाई गभर्नर बनाउन विशेष रूपमा प्रधानमन्त्री केपी शर्मा ओली पनि लागि परेका छन् । उनी सकेसम्म आफ्नै व्यक्ति राष्ट्र बैंकभित्रैबाट आओस् भन्ने हिसाबले लागिपरेको एक इच्छुकले बताए । उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि लागिपरेका छन् । उनी पनि आफूले पत्याएको र विगतमा राष्ट्र बैंकमा काम गरेका व्यक्ति बनाउन लबिङ गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने हालसम्म खासै आफ्नो व्यक्ति भनेर लागि नपरेको र कुनै एक राजनीतिक नियुक्तिको बार्गेनिङका लागि तयारी अवस्थामा रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ गभर्नरको नाम सिफारिस गर्न र आफू अनुकूलको व्यक्ति चयन गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई जिम्मेवारी दिइसकेका छन् ।

अर्थमन्त्री खतिवडा अर्थसचिव राजन खनाललाई गभर्नर बनाउनुपर्छ भने लबिङमा छन् भने प्रधानमन्त्रीको चाहना राष्ट्र बैंकभित्रैबाट आओस् भने रहेको छ । प्रधानमन्त्रीको चाहनासँग मेल खानेगरी राष्ट्र बैंककै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी अगाडि आइपरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीमा पनि आफ्नो पहुँच पु¥याइसकेका छन् ।

उनीभन्दा सिनियर डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई भ्रष्टाचारको अभियोग लागेपछि उनको बाटो खुला भएको छ । श्रेष्ठ निलम्बनमा पर्नु र शिवाकोटी पार्टी समर्थक भएकाले गभर्नरका लागि उनी बलिया प्रतिस्पर्धी हुन् । प्रधानमन्त्री ओलीसँगको पारिवारिक नाता पनि जोडिएकाले शिवाकोटीलाई नै भावी गभर्नर भनेर चित्रण गर्न थालिएको छ । यद्यपि, उनलाई राष्ट्र बैंकका पूर्ववरिष्ठ कर्मचारीद्वय महाप्रसाद अधिकारी र मीनबहादुर श्रेष्ठले टक्कर दिइरहेका छन् । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि गभर्नर बन्न दौडधुप गरेकाले शिवाकोटी कमजोर हुन सक्ने लख काटिएको छ । अधिकारीको पक्षमा प्रधानमन्त्रीसमक्ष गतिलै लबिङ भएको बुझिएको छ ।

अर्थमन्त्री डा. खतिवडाका प्रिय पात्रका रूपमा रहेका अधिकारी प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्थमन्त्रीले खनाल नभए अधिकारी भनेर लबिङ थालेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ग्रिन सिग्नल पाएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ पनि प्रबल दावेदारका रूपमा रहेका छन् । नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी र राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले पनि गभर्नर पदको इच्छा जाहेर गरेका छन् । अर्थशास्त्री डा. डिल्लीराज खनाल र राष्ट्र बैंकका सञ्चालक सुबोधलाल कर्णलगायत पनि दौडमा छन् ।

वर्तमान गभर्नर डा. चीरञ्जीवी नेपालको पाँचवर्षे कार्यकाल आगामी चैत पहिलो साता सकिँदैछ । त्यसको एक एक महिना अघि नै उनी अनिवार्य बिदामा बस्नुपर्नेछ । उनी सुशील कोइराला प्रधानमन्त्री भएका बेला २०७२ सालमा गभर्नर भएका हुन् । त्यसअघि उनी कोइरालाका आर्थिक सल्लाहकार थिए । पोर्टफोलियोमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षभन्दा तल रहने भए पनि गभर्नर पदलाई आकर्षक पदका रूपमा लिने गरिन्छ । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर गभर्नर बनेपछि यो पदको महत्व झल्किएको थियो ।
राजधानीबाट

सम्बन्धित समाचारहरु